१४ बैशाख २०८१, शुक्रबार

एमालेको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण


एमालेको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) को केन्द्रीय समितिलाई दशौ महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय भएको छ । आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले हाल कायम रहेको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए ।

हाल नेकपा एमालेमा २६४ सदस्य केन्द्रीय समिति कायम रहेको छ । ज्ञवालीका अनुसार महाधिवेशन आयोजक समितिमा अध्यक्ष स्वतः अध्यक्ष केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेल रहेका छन् । अन्य पदाधिकारी आवश्यकता अनुसार अर्को बैठकले चयन गर्ने उनले बताए ।

२६४ जना केन्द्रीय सदस्य तथा पदाधिकारीको कार्यविभाजन गर्नका लागि विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरिएको छ । यस्तै आयोजक समितिमा रहेका सदस्यहरुको कार्यविभाजन गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, नेताहरु टोपबहादुर रायमाझी र शंकर पोखरेल रहेको एक समिति बनाइएको छ । कार्यदलले कार्य विभाजनका साथै संगठनलाई व्यवस्थित गर्ने प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको छ ।

बैठकले पार्टी हित विपरितको गतिविधि गरेको भन्दै नेता माधव नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । उनीहरुले दिने स्पष्टीकरणको आधारमा बैठकले आवश्यक निर्णय लिने ज्ञवालीले बताए ।

खनाल-नेपाल समूहले फागुन २८ गतेको केन्द्रीय समिति विस्तार लगायतका फेरबदल परिमार्जन नगरिएसम्म अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा नजाने अडान लिएको छ । महाधिवेशन आयोजनाका लागि पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरूको जिम्मेवारी तय गर्न कार्यदल गठन गरिएको पनि ज्ञवालीले जानकारी दिए ।

त्यस्तै, सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न गर्न सातवटै प्रदेश कमिटीलाई जिम्मेवारी दिइएको पनि ज्ञवालीले जानकारी दिए । पार्टीको सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको जिम्मेवारी दिइएको छ । एमालेले २०७८ मंसिरमा दशौ महाधिवेशन गर्ने निर्णय यसअघि नै गरेको थियो ।

यो पनि पढ्नुहोस्

दलको विधान संशोधनपछि ओली यति शक्तिशाली, पाए सांसद हटाउन सक्ने अधिकार

माधव नेपालसहित एमालेका ५ जना नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

नेकपा एमाले संसदीय दलको विधान संशोधन प्रस्ताव पारित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !