२६ बैशाख २०८१, बुधबार

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी, सरकारबाट फिर्ता नहुने मन्त्रीहरुलाई कारबाही गर्दै


माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको छ । माओवादी केन्द्रको हिजो शनिबार सम्पन्न स्थायी समिति बैठकको निर्णय अनुसार केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

सर्वोच्च अदालतले नेकपाको एकीकरण बदर गरेर साबिककै दलको हैसियतमा पुर्याएपछि माओवादी केन्द्रको बस्न लागेको केन्द्रिय समितिको बैठकलाई महत्वका साथ् हेरिएको छ । आज बस्ने बैठकले देशको समसामयिक राजनीतिक परिदृश्यबारे छलफल गर्ने केन्द्रका एक नेताले बताए ।

बैठकमा पार्टीको नाम, आगामी रणनीति, नयाँ सरकार गठनका लागि अन्य दलहरुसँगको समिकरण र प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन लगायतका विषयमा छलफल हुने बताइएको छ । त्यसैगरी माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्री र एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका २३ जना नेताहरुलाई कारवाही गर्ने लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

केन्द्रको हिजो शनिबार बसेको स्थायी समिति बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । माओवादीबाट गृहमन्त्री बनेका रामबहादुर थापा, उद्योग वाणिज्य मन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, शहरी विकास मन्त्री प्रभु साह, खेलकुद मन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीलाई केन्द्रले फिर्ता बोलाउने निर्णय गरेको थियो ।

नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेर नेकपा एमालेमा लागेर सरकारबाट फिर्ता नहुनेलाई माओवादी केन्द्रले कारबाही गर्ने तयारी गरेको छ । हिजो शनिबार बसेको केन्द्रको स्थायी कमिटी बैठकले उनीहरुलाई सरकारबाट फिर्ता हुन र २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।

केन्द्रीय कमिटी बैठकले माओवादीबाट मन्त्री बनेर अहिलेसम्म फिर्ता नभएकाहरुलाई कारबाही गर्ने तयारी भएको केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। तर माओवादीले फिर्ताका लागि निर्देशन दिएका मन्त्री र केही सांसदहरुलाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाइसकेका छन् ।

माओवादी केन्द्रमा नफर्कने निर्णय गरेकाहरुलाई एमालेले महत्त्वपूर्ण जिम्मेवारी समेत दिइएको छ । माओवादी केन्द्रले कारबाहीको तयारी गरे पनि उनीहरु फिर्ता नहुने मनस्थितिमा रहेका छन् । नेकपा माओवादी केन्द्र का २३ जना नेतालाई नेकपा एमालेले केन्द्रीय सदस्य मनोनित गरेको थियो।

पत्र पठाएर औपचारिकता पूरा गरेको माओवादीले उनीहरूलाई कारबाही गर्दै पार्टी सदस्यबाट हटाउने तयारी गरेको छ । एमाले केन्द्रीय सदस्यमा मनोनित भएका ती नेताहरूलाई दल त्याग गरेका हुन् वा होइनन् स्पष्ट पार्न स्पष्टिकरण पत्रमा भनिएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ । माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य भएका उनीहरूलाई पार्टीले हटाइसक्दा राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार सांसद स्वतः जानेछ ।

यो पनि पढ्नुहोस्

एमालेमा लागेका रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित सबैको सांसद पद च्वाट, मन्त्री पद पनि जाने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !