२५ बैशाख २०८१, मंगलबार

कांग्रेसले आफ्ना सांसदलाई काठमाडौं नछाड्न किन दियो निर्देशन ? के सरकारमा जाला त ?

कांग्रेसद्वारा आफ्ना सांसदलाई काठमाडौं नछाड्न निर्देशन


नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरवार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ । कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले अनौपचारीक रुपमै काठमाडौं बाहिर नजान र नगई नहुने अवस्था भए परामर्श गर्न सांसदहरुलाई खबर गरेका छन् ।

कांग्रेसले किन यस्तो निर्देशन दियो ? के काँग्रेस सरकारमा जाला त ? भन्ने जस्ता जिज्ञासा आम नेपाली जनतामा बढेको छ । प्रतिनिधिसभा विघटन तथा पुनःस्थापना र नयाँ सत्ता समीकरणको बारेमा तीव्र छलफल भईरहेको समयमा यसरी नेपाली काँग्रेसले आफ्ना सांसदलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिनुलाई बडो महत्त्वका साथ हेरिएको छ ।

फागुन २३ गते संसद बैठक बोलाइएको सन्दर्भमा जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन निर्देश गरिएको हो । संयुक्त अविश्वास प्रस्तावमा सहमति जुटेको खण्डमा आवश्यक पर्ने भएकाले सांसदहरूलाई काठमाडौं नछाड्न अनौपचारिक रुपमा कांग्रेसले निर्देशन दिएको हो । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसदमध्ये विजयकुमार गच्छदार र मोहम्मद अफताब आलम निलम्बित अवस्थामा छन् ।

काँग्रेसले आगामी फागुन २१ गते शुक्रबार दिउँसो १ बजेका लागि संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा संसदीय दलको बैठक आह्वान गरेको छ । प्रतिनिधिसभा विघटन तथा पुनःस्थापना र नयाँ सत्ता समीकरणको बारेमा तीव्र छलफल भईरहेको समयमा नेपाली काँग्रेसले बोलाएको संसदीय दलको बैठकलाई विशेष चासोका साथ हेरिएको छ ।

फागुन २१ गते बस्ने संसदीय दल आगामी फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा सन्दर्भमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्ने छन् काँग्रेसका एक नेताले बताए । संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न शुक्रबार कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि प्रचण्ड-माधव समूहका नेताहरु नयाँ सरकारको गठनका लागि दौडधूप गरिरहेका छन् । नयाँ सत्ता समीकरण गरेर सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेताहरुलाई समेत भेटेर छलफल गरिसकेका छन् ।

तर नेपाली काँग्रेसले नेकपाको आधिकारिकता नटुंगिएसम्म नेकपाको कुनै समूहलाई सहयोग नगर्ने निर्णय गरिसकेको छ भने जसपाका नेताहरुले त प्रचण्ड-नेपाल समूहलाई तपाईहरुको कुन पार्टी हो ? पहिला स्पष्ट गरेर आउनुहोस् भनेर प्रश्न उठाई कटाक्ष समेत गरिसकेपछि उक्त समूहलाई हात्ती आयो हात्ती आयो फुस्सा जस्तो भएको छ ।

पुनःस्थापाना गरिएर बस्न लागेको प्रतिनिधिसभामा नयाँ सरकार निर्माणको गृहकार्य हुने देखिएको छ । तर प्रधानमन्त्री ओलीले देशका विभिन्न ठाउँमा भएका सभाहरूमा पुगेर संसदीय दलवाट आफूलाई हटाउन र संसदमा अविश्वास प्रस्ताव ल्याएर हटाउन पनि चुनौती दिदै आएका छन् ।

नेपाली कांग्रेसको देउवा पक्ष यसअघिदेखि नै सरकारमा जाने आकांक्षा राख्दै आएको छ भने पौडेल पक्ष सरकारमा जानुहुदैन भन्ने तर्क राख्दै आएको छ । नेपाली काँग्रेस सरकारमा गएमा र प्रधानमन्त्री पनि काँग्रेसले पाउने स्थिति देखिएमा देउवालाई रोकेर बिपी पुत्र काँग्रेस महामन्त्री डा. शशाङ्क कोइराला र गणेशमान पुत्र प्रकाशमान सिंहले पनि प्रधानमन्त्री हुने भित्री आकांक्षा राखेको भन्ने जस्ता हल्लाहरु नआएका होइनन् ।

शायद त्यहि भएर हो कि के हो कांग्रेसका महामन्त्री जस्तो व्यक्ति डा. शशाङ्क कोइरालाको नेकपाको प्रचण्ड-नेपाल समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्ने धारणा आउनुले के नेपाली काँग्रेस नयाँ बन्ने सरकारमा जान तयार भएको हो त । उनले आज चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड-नेपाल समूहले दर्ता गर्ने जानकारी दिए ।

उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने बताए । तर नेपाली काँग्रेसनयाँ बन्ने सरकारमा जाने वा नजाने निर्णय आधिकारिक रुपमा फागुन २१ गते बस्ने पार्टीको संसदीय दलको बैठकले नै निर्णय गर्ने देखिएकोले त्यो समयसम्म धैर्यता गरी प्रतिक्षा गरेर बस्नुपर्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

नेपाली काँग्रेसले किन बोलायो संसदीय दलको बैठक ?

नेपाली कांग्रेस सरकारमा जानुपर्छ : महामन्त्री डा. कोइराला


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !