१४ बैशाख २०८१, शुक्रबार

सरकार र विप्लव समूहबीच पहिलो चरणको औपचारिक वार्ता सकियो


सरकार र विप्लव समूहबीच पहिलो चरणको औपचारिक वार्ता

काठमाडौँ । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीबीच आज पहिलो चरणको औपचारिक वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो ।

वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको सहभागिता रहेको थियो भने विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहभागी थिए ।

वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए । दुई पक्षबीच आ-आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ ।

वार्तामा विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको थियो भने पक्राउ परेका नेता/कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने भनेको छ ।

सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माका संयोजकत्वमा मङ्गलबार अलग-अलग वार्ता समिति सार्वजनिक भएको थियो । हिंसात्मक गतिविधिमा प्रतिबन्ध लगाइएको सो समूह राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयमा वार्ता र संवाद गर्न तयार भएपछि वार्ता प्रक्रिया अघि बढेको हो ।

स्रोतका अनुसार प्रकाण्ड र चलाउने बुधबार बिहानै बालुवाटार प्रवेश गरेका थिए भने गृहमन्त्री थापा ९ बजेतिर बालुवाटार पुगेपछि साढे ९ बजे तिरबाट वार्ता शुरु भएको थियो । सरकारले २०७५ फागुन २८ मा विप्लव समूहलाई ध्वंसात्मक गतिविधि गरेको ठहर गर्दै प्रतिबन्ध लगाएका थियो ।

यो पनि पढ्नुहोस्

विप्लवको समूहबाट सरकारसँग वार्ता गर्न प्रकाण्डसहित २ सदस्यीय टोली गठन

सरकारद्वारा विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा २ सदस्यीय टोली गठन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !