१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डको सुरक्षामा किन खटियो पूर्वजनमुक्ति सेनाका कमाण्डरको टोली ?


प्रचण्डको सुरक्षा

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको प्रचण्ड-नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा पूर्वजनमुक्ति सेनाका कमाण्डरको टोली खटिएको छ ।

सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र शसस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि प्रचण्डको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् । प्रचण्डको सुरक्षामा प्रकाशचन्द पाण्डेको नेतृत्वमा पूर्वलडाकुको विशेष टोली खटिएको हो ।

पाण्डे स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकु हुन् । सशस्त्र द्वन्द्वकालमा उनी बटालियन कमान्डरसम्म भएका थिए । यसरी खटिएका पूर्वलडाकुको ड्रेस कोड पनि तोक्ने तयारी रहेको स्रोतको भनाइ छ ।

सुरक्षा चुनौतीलाई ध्यान दिएर पूर्वजनमुक्ति सेनाको टोली खटाइएको प्रचण्ड-नेपाल समूहका एक नेताले बताएका छन् । यसअघि प्रचण्डको सुरक्षामा अघि र पछि जनपथ र सशस्त्र प्रहरीको गाडीले सुरक्षा दिने गरेको थियो ।

सुरक्षाकर्मीको संख्या कटौती भएसँगै सरकारले प्रचण्डलाई २ जना नेपाल प्रहरी र १६ जना सशस्त्र प्रहरीको टोली खटाएको छ । यसअघि नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ र सशस्त्रबाट इन्स्पेक्टरको कमान्डमा ४७ जना गरी ७३ सुरक्षाकर्मी दाहालको सुरक्षामा खटिएका थिए ।

हालै मन्त्रिपरिषद् बैठकबाट पारित पूर्व तथा बहालावला पदाधिकारीको सुरक्षासम्बन्धी कार्यविधि २०७७ अनुसार पूर्वप्रधानमन्त्रीको सुरक्षामा सशस्त्रका १६ र प्रहरीका २ जना मात्रै खटाउने उल्लेख गरिएसँगैं दाहालको अगुवा एस्कर्टिङ गाडीसहित दुवै सुरक्षा निकायबाट ५५ सुरक्षाकर्मी फिर्ता भएका थिए ।

सुरक्षाकर्मी कटौती भएसँगैं आवश्यक मात्रामा पूर्वलडाकुको टोली अगुवा एस्कर्टिङ र कार्यक्रमस्थल व्यवस्थापन अन्तर्गत खटिएको हो । १० जनाको टोलीको गाडी प्रचण्डको गाडीभन्दा अघि हिँड्ने गरेको छ । यो टोलीसँग हातहतियार छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !