२४ बैशाख २०८१, सोमबार

आज २६ औं जनयुद्ध दिवस : प्रचण्ड-नेपाल समूहले मनाउने, ओली समूहले नमनाउने

बाचा पूरा नगरेको भन्दै आम नागरिक र कार्यकर्ता निराश


जनयुद्ध दिवस

काठमाडौ । आज फागुन १ गते २६ औं जनयुद्ध दिवस मनाइँदै छ । नेकपा प्रचण्ड-नेपाल समूहले आज देशभर विभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउने तयारी गरेको छ तर नेकपा ओली समूहले भने आज कुनै कार्यक्रम नराखेको बुझिएको छ ।

उक्त समूहको केन्द्रीय कार्यालय पेरिसडाँडाबाट आज सबै जिल्लामा जनयुद्ध मनाउन सर्कुलेसन जारी गरिएको छ । सहिद स्मृति तथा सम्मान कर्यक्रमको ब्यानरमा आफ्नो अनुकूलतामा सबै जिल्लालाई जनयुद्ध दिवस मनाउन केन्द्रीय कार्यालयले सर्कुलेसन जारी गरिएको जनाइएको छ ।

तत्कालीन नेकपा माओवादीले २५ वर्षअघि २०५२ साल फागुन १ गतेबाट सशस्त्र द्वन्द्व अर्थात ‘जनयुद्ध’ शुरुवात गरेको दिनको सम्झनामा तत्कालिन माओवादीहरुले जनयुद्ध दिवस मनाउँदै आएका छन् । १० वर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुवै पक्षबाट १३ हजारभन्दा धेरै व्यक्ति मारिएका थिए ।

आज बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न आन्दोलन र जनयुद्धमा शहिद भएकाहरूको स्मृतिमा सभा र सम्मान कार्यक्रम गरेको उक्त समूहका नेताले बताएका छन् ।

संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर तत्कालिन माओवादीले नेपालमा शसस्त्र विद्रोहको शुरूवात गरेको थियो ।

बि.सं. २०६३ सालमा बिस्तृत शान्ति सम्झौता गरेर १० वर्षे जनयुद्धको अन्त्य भयो र मुलुकमा संयुक्त जनआन्दोलन, मधेश आन्दोलन लगायतको बलमा गणतन्त्र स्थापना तथा संविधानसभाबाट नयाँ संविधान निर्माण हुंदै देशले संघीयताको अभ्यास गरिरहेको छ ।

सो जनयुद्धमा हजारौँ व्यक्ति घाइते र अङ्गभङ्ग भएका थिए । विस्तृत शान्ति सम्झौतासँगै शान्तिपूर्ण राजनीतिमा आएको झण्डै १५ वर्ष बितिसक्दा पनि नेताहरुले गरेका बाचा पूरा नगरेको एवं आफ्नो स्वार्थमा जुट्ने र फुट्ने गरेको भन्दै आम नागरिक र कार्यकर्ता निराश बनेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !