२० बैशाख २०८१, बिहिबार

थप निर्णय गर्ने ‘मूड’ मा सरकार, दूरगामी महत्त्वका दर्जनौं प्रस्ताव मन्त्रिपरिषदमा


deuwaa

१४ माघ, काठमाण्डौ । प्रदेश सरकार गठन प्रक्रिया छिट्टै सुरु हुने भएपछि मुख्यमन्त्रीका दाबेदारहरु लबिङमा लागेको र एमालेमा मुख्य मन्त्री बन्न हानथाप देखिएको विषयलाई आज विभिन्न दैनिक पत्रपत्रिकाहरुले लेखेका छन् । प्रदेश २ मा सरकार बनाउन मधेसवादी दल गृहकार्यमा लागेको समाचार पनि आजको दैनिक पत्रपत्रिकामा छ । कर्णाली करिडोर निर्माणलाई मुख्य समाचार बनाएर छापेको विभिन्न दैनिक पत्रपत्रिकाहरुले कामचलाउ हैसियतमा जथाभावी निर्णय गरेर आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुरले यसलाई थप निरन्तरता दिने संकेत गरेको लेखेको छ ।

समाचार अनुसार वृद्धभत्तालगायत विषयमा हचुवा निर्णय गरेको भन्दै आलोचित बन्दै आइरहेको वर्तमान मन्त्रिपरिषदमा सस्तो लोकप्रियताका दर्जनभन्दा बढी प्रस्ताव विचाराधीन छन् । वाणिज्य मन्त्री मीन विश्वकर्माले देउवा नेतृत्वमा सरकार बनेलगत्तै विभिन्न प्रतिबद्धता व्यक्त भएको तर निर्वाचन आचारसंहितालगायत कारणले गर्न नसकिएकाले अहिले त्यही अनुसार निर्णय भएको भन्दै सरकारको बचाउ गरेका छन् । उनले गलत भए आउने सरकारले फिर्ता लिन सक्नेसमेत बताए ।

मुख्यमन्त्रीका आकांक्षी नेताहरू संसदीय दलको नेता बन्ने दौडमा लागेका छन् । सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना छ । संसदीय दलको बैठकमार्फत दलको नेता चुनिने भएकाले मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सक्रिय हुन थालेको खबरलाई आज नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ ।

एमालेबाट मुख्यमन्त्रीका आकांक्षी अधिकांश नेता प्रदेश सभा संसदीय दलको नेताका लागि निर्वाचनमा भिड्ने तयारीमा छन् । संविधानमा प्रदेश सभामा बहुमत प्राप्त पार्टीको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । समाचार अनुसार, प्रदेश १ मा एमाले सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्यमन्त्रीका मुख्य दाबेदार हुन् । आचार्य पार्टीको प्रदेश संयोजक र राई सहसंयोजक हुन् । यीबाहेक पार्टी केन्द्रीय सदस्य तथा अखिलका पूर्वअध्यक्षहरू हिक्मत कार्की र राजेन्द्र राई चर्चामा रहे पनि उनीहरूको दाबी सशक्त छैन ।

प्रदेश २ मा संघीय समाजवादी फोरमका विजय यादव, लालबाबु रावत र शैलेन्द्र साह, राजपाबाट जितेन्द्र सोनल र मनीष सुमन दाबेदार छन् । प्रदेश ३ मा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य पशुपति चौलागाईं र राजेन्द्रप्रसाद पाण्डे मुख्य दाबेदार छन् । वैकल्पिक पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ तथा काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापित पनि आकांक्षी छन् ।

प्रदेश ४ मा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ दाबेदार छन् । प्रदेश ५ मा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल मुख्यमन्त्रीको एक मात्र दाबेदारका रूपमा प्रदेश सभा संसदीय दलको नेतासमेत चयन भइसकेका छन् । प्रदेश ६ मा माओवादीका पोलिटब्युरो सदस्यद्वय महेन्द्रबहादुर शाही र नरेश भण्डारी आकांक्षी छन् । प्रदेश नम्बर ७ मा माओवादी नेताद्वय वीरमान चौधरी र झपट बोहरा आकांक्षी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !