७ बैशाख २०८१, शुक्रबार

निर्वाचन आयोगलाई ओलीको जवाफ : नेकपा विभाजन भएकै छैन

प्रचण्ड द्वितीय अध्यक्ष र नेपाल वरिष्ठ नेता कायमै भएको ओलीको दावी


केपी ओली र निर्वाचन आयोग

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा जवाफ पठाएको छ । उक्त समूहका अध्यक्ष ओलीले पार्टी नै विभाजन नभएको दाबी गरेका छन् ।

साथै पार्टीमा आफू नेतृत्वको नेकपा नै आधिकारिक भएको भन्दै उनले अरुले पठाएको जानकारी अभिलेखिकरण गरे निर्वाचन आयोगले नै पार्टी एकताको भंगको घोषणा गरेको हुने दाबी पनि गरेका छन् ।

आयोगले गत पुस २३ गते बिहीबार नेकपाका दुवै पक्षलाई ऐन-नियम र पार्टीको विधान अनुसार विवरण पठाउन पत्राचार गरेको थियो । सोही अनुसार पत्रको जवाफमा ओलीले नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल दोस्रो वरियताको अध्यक्ष कायम रहेको बताएका छन् ।

साथै पत्रमा प्रचण्ड-नेपाल समूहले ओलीलाई अनुशासनको कारबाही गर्दै उनको ठाँउमा माधव नेपाललाई अध्यक्ष नियुक्त गरेको विवरण पेश गर्नुको औचित्य र वैधानिकता नभएको उल्लेख गरेका छन् । उक्त पत्रमा माधव नेपाल नेकपाको वरिष्ठ नेता भएको समेत उल्लेख गरिएको छ ।

नेपाललाई अध्यक्ष बनाइएको भन्ने प्रचण्ड-नेपालले आयोगलाई पठाएको पत्राचार र दाबीको कुनै औचित्य र वैधानिकता नभएको पत्रमा उल्लेख छ । प्रचण्ड समेतले आयोगमा पत्र पठाइ पार्टी विभाजनको हिसाबले पत्राचार गरेपनि नेकपा विभाजन नभएको ओलीले पठाएको पत्रमा उल्लेख छ ।

नेकपाका दुवै पक्षले पार्टीमा गरेको आन्तरिक परिवर्तनलाई दल दर्ता किताबमा अभिलेखिकरण गर्न कानुनी प्रक्रियाभित्रबाट नआएकाले उनीहरूले उपलब्ध गराएका चिठीपत्र र जानकारीकै आधारमा मात्र पार्टी संरचनागत हेरफेरको विवरण अभिलेखीकरण गर्न नसकिने बताएको थियो ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएयता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल तथा नेपाल पक्षले आयोगमा एकले अर्कालाई कारबाही गरेको भन्दै पत्राचार गरेका थिए ।

ओली समूहबाट नेता सुवास नेम्वाङको टोली आज बुधबार आयोग पुगेको थियो भने प्रचण्ड समूहका नेता लिलामणि पोखरेल सहितको टोली आयोग गएर जवाफ पठाएको हो । ओली समूहका नेता नेम्वाङको टोलीले आयोगले मागे अनुसार १० पेजको जवाफ र आवश्यक कागजपत्र बुझाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !