२५ बैशाख २०८१, मंगलबार

प्रदेशसभामा निर्वाचित सांसदले पाए प्रमाणपत्र


५ माघ, काठमाण्डौ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फवाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई शुक्रबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । आयोग प्राङ्गणमा आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उहाँहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।

प्रदेशसभा सदस्यको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा भएको थियो । समानुपातिक निर्वाचन प्रणालीवाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना निर्वाचित भएका छन् । समानुपातिक निर्वाचन प्रणालीको निर्वाचिन अधिकृतमा निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याल छन् ।

उक्त निर्वाचनवाट प्रदेशसभा सदस्यमा विभिन्न राजनीतिक दलका ६९ आदिवासी जनजाति, ६६ खस आर्य, १२ थारु, २९ दलित, ३७ मधेसी र सात मुसलमान उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा सदस्य निर्वाचनमा ४१ राजनीतिक दलले भाग लिएका थिए ।

त्यस्तै, यो निर्वाचन प्रणालीवाट राष्ट्रियसभा सदस्यमा अपाङ्गता भएका चार, अल्पसंख्यक समुदायका १७ र पिछडिएका क्षेत्रका १२ जनाको प्रतिनिधित्व भएको निर्वाचन आयोगले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !