१२ असार २०८१, बुधबार

म मर्छु तर प्रचण्ड-नेपाल समूहको आकांक्षा पुरा हुन दिन्नँ : प्रधानमन्त्री ओली


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकढिक्का राख्न अनेकौँ त्याग गर्दा पनि अर्को पक्षले जालझेल मात्र गरेर पार्टीलाई फुटसम्मको अवस्थामा ल्याएको आरोप लगाएका छन् ।

काठमाडौँमा आफू पक्षीय सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै ओलीले आफूले शान्ति, स्थायित्व, संविधान र स्थिरताका लागि एकता गर्नुका साथै एकतालाई जोगाउन आफूले प्रचण्डसँग पटक-पटक सहमति गरेको प्रसंग कोट्याउदै प्रचण्डसँग सहमति गर्दा आफ्नो एउटा ब्रिफकेस नै भरिएतापनि प्रचण्डले सहमति कार्यान्वयन गर्न नसकेको आरोप लगाए ।

उनले एकता गर्नका लागि पूर्वमाओवादी पक्षलाई ४० प्रतिशत हिस्सा दिएको स्मरण गर्दै अहिले सोही प्रतिशतलाई बहुमतको खेलमा प्रयोग भएकोमा दुःख व्यक्त गरे । उनले पार्टी एकता गर्दा एमालेमा माधव नेपाल गुट भएको र त्यसमा प्रचण्ड गुट पनि थपिन्छ भन्ने आफूलाई थाहा हुँदाहुँदै पनि एकताका लागि आफूले ४० प्रतिशत दिएतापनि प्रचण्डले शक्ति बहुमतको खेलमा लगेर केन्द्रित भएकोले पार्टी विभाजन हुने स्थितिमा पुगेको बताए ।

आफूले मित्रताले अँगालो हाल्दा प्रचण्डको ध्यान शुरुदेखि ध्रीतराष्टले जस्तै पार्टी कब्जा गर्ने र हत्याउने रहेकोले आफूले पटक-पटक सम्झाउने प्रयास गरेपनि प्रचण्डले जालझेल र तिकडम गरिराखेको उनले आरोप लगाउदै ३ वर्षमा आफ्नो धेरै साबुन, स्याम्पु र ट्याङ्करको पानी सकिएतापानी उनीहरु नसुध्रिएको बताए ।

ओलीले आफू मरेपनि प्रचण्ड-नेपालको आकांक्षा पूरा हुन नदिने उद्घोष गर्दै संसद पुनर्स्थापनाको सम्भावना पनि नरहेको जिकिर गरे । उनले आफू मर्छु तर उनीहरुको आकांक्षा पुरा हुन दिँदिन भन्दै चुनाब हुँदैन भन्ने प्रचण्ड-नेपाल समूह अबको चुनावमा पत्तासाफ हुने पनि बताए । अब चुनावको तयारी गरी प्रचण्ड माधव समूहलाई पनि चुनावको तयारीमा लाग्न सुझाव दिदै चुनावको तयारीमा नलागेर किन माइतीघरको चिसो भुइँमा बसेर रमिता देखाएको भनेर प्रतिप्रश्न गरे ।

प्रचण्ड-नेपाल समूहले आफूसँग बहुमत भएको दाबी गरेपनि उनीहरुको बहुमत नभएको भन्दै माधब नेपाल प्रचण्डको सामान्य कार्यकर्ता मात्र भएको जिकिर गरे । उनले ताजा जनादेश लिन जनता कहाँ जाँदा कसरी लोकतन्त्र धरापमा पर्छ भनेर प्रश्न समेत गरेका छन् । उनले आफू नभएको भए नाकाबन्दीको सामना कसैले गर्न नसक्ने दाबी गरे ।

ओलीले सरकारका कामकारवाहीमा प्रचण्डले सहयोग नगरेको बताउदै आजित भएर आफूले संवैधानिक परिषद् अध्यादेश ल्याएको जिकीर गरे । उनले छोरी जिताउन प्रचण्डले मतपत्र च्यातेर प्रजातन्त्र धुजा-धुजा पारेको टिप्पणी गर्दै छोरी जिताउनकै लागि नेपाली कांग्रेसँग प्रचण्ड मिलेतापनि खासै उपलब्धी नभएको टिप्पणी गरे ।

अब नेपालमा गणतन्त्र, लोकतन्त्र र संविधान लगायतका उपलब्धि अहिले मुलुकमा राजतन्त्र नभएकाले खतरा नभएको ओलीले बताए । दाहाल र नेपाल समूहले आफूलाई काम गर्न नदिएकाले संसद विघटन गर्नुपरेको उनको तर्क दिंदै उनले अब सँगै मिलेर चुनावमा जानुपर्ने धारणा राखेका छन् । विगतमा भएका कुरा बिर्सेर मिलेर चुनावमा जानुपर्ने धारणा उनको थियो ।

अव वैशाखमा हुने चुनाव धाँधलीरहित हुने भन्दै ओलीले बत्ती ननिभाइने र मतपत्र पनि नच्यातिने दावी गरे । संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा प्रधानमन्त्रीले संसद पुन:स्थापना नहुने ठोकुवा गरेका हुन् । सर्वोच्चको संवैधानिक इजलासले उक्त विषयमा सरकारसँग संसद विघटनको कारण मागेको छ ।

यो पनि पढ्नुहोस्

ओली भन्छन्, “प्रचण्डलाई धुँदा-धुँदा साबुनका धेरै डल्ला खर्च भए, ड्रमका ड्रम पानी खतम भयो”

माधवकुमार नेपाल प्रचण्डका मामुली कार्यकर्ता हुन् : अध्यक्ष ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !