१२ असार २०८१, बुधबार

ओली समूहद्वारा प्रचण्डको कार्यकारी अधिकार खोस्ने निर्णय


प्रचण्ड फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले पुष्पकमल दाहाल प्रचण्डबाट कार्यकारी अधिकार खोस्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको विहीबारको बैठकले प्रचण्डको कार्यकारी अधिकार खोस्ने निर्णय गरेको हो । तर, प्रचण्डलाई अध्यक्षबाट भने हटाइएको छैन ।

ओली पक्षले बिहीबार नै विधानमा पनि प्रथम अध्यक्ष (ओली) मात्रै हस्ताक्षर चल्ने गरी संशोधन गरी निर्वाचन आयोगमा दर्ता गरिसकेको छ । यसअघि नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेपनि श्रेष्ठलाई पनि पार्टीबाट हटाइएको छैन ।

यसैगरी उक्त बैठकले प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ, प्रदेश २ इन्चार्जमा सत्यनारायण मण्डल, वागमती प्रदेशको इन्चार्जमा ईश्वर पोखरेल, गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशको इन्चार्जमा शंकर पोखरेल, कर्णाली प्रदेशको इन्चार्जमा मणि थापा र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्टलाई जिम्मेवारी तोकेको बैठकपछि प्रवक्ता ज्ञवालीले जानकारी दिएका हुन् ।

साथै जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझी, राजधानी उपत्यकाको इन्चार्जमा कृष्णगोपाल श्रेष्ठलाई दिएको छ । यसरी उक्त समूहको बैठकले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्जहरु तोकेको हो ।

बिहीबारकै बैठकले प्रचण्ड-नेपाल समूहमा लागेका प्रदेश इन्चार्जहरु हटाएको छ । प्रचण्ड छोडेर ओलीतिर लागेका टोपबहादुर रायमाझीलाई जनसंगठन इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !