१४ बैशाख २०८१, शुक्रबार

वामदेव फकाउँदै प्रचण्ड : गौतमलाई भेट्न पुगे भैंसेपाटी


प्रचण्ड-वामदेव

काठमाडौं, साउन २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न आज मंगलबार बिहान गौतम निवास भैंसेपाटी पुगेका छन् । केहि समययता प्रधानमन्त्री ओली निकट हुन थालेपछि वामदेवलाई फकाउन प्रचण्ड भैंसेपाटी पुगेका हुन् ।

प्रचण्डलाई गौतमले आफ्नो ६ बुँदे प्रस्तावमा सहमत हुन आग्रह गरेको स्रोतले बतायो । यसअघि साउन १३ गते मंगलवार गौतमलाई भेट्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पत्नी राधिका शाक्यसहित भैंसेपाटी पुगेका थिए ।

साउन १३ गते उपाध्यक्ष गौतमले पार्टी विवादको समाधानका लागि ६ बुँदे प्रस्ताव राखेका थिए । गौतमले पार्टीमा विग्रह आउन नदिन ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस अवधिभर प्रधानमन्त्री बनाउनेसहित को ६ बुँदे प्रस्ताव बुझाएका थिए ।

त्यस्तै प्रचण्डलाई कार्यकारीको भूमिकामा काम गर्न दिने र पार्टीका बैठक धुम्बाराहीमा गर्ने लगायत थियो । पार्टी एकता सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपर्दा पार्टी सचिवालयमा परामर्श गर्नुपर्ने गौतमको सुझाव छ ।

पार्टीको आन्तरिक विवाद मिलाउन सहमति खोज्ने उद्धेश्यले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा हिजो भएको वार्ता सहमति हुन नसकेर असफल भएको थियो ।

प्रचण्डले कम्युनिष्ट पार्टीका ४ जना नेतालाई आफूले प्रधानमन्त्री बनाएपनि वामदेवलाई अहिलेसम्म नसकेको तर चाँडै बनाउने भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । यसबीचमा वामदेवले ओलीलाई छाडेर प्रचण्डलाई साथ दिँदै आएका थिए । गौतमको एकपटक प्रधानमन्त्री बन्ने तीब्र इच्छा रहेको छ ।

मंगलबार प्रधानमन्त्री ओलीसँग छलफल हुनुअघि प्रचण्ड वामदेवलाई भेट्न उनको भैंसेपाटीस्थित निवास पुगेका छन् । गौतमको निजी सचिवालयले नेताबीचको भेटघाट सामान्य भएको प्रतिक्रिया दिएको छ । नेकपाभित्र विवाद चर्किएका बेला प्रचण्ड गौतमको घरमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु