५ जेष्ठ २०८१, शनिबार

न्याय स्थापित होस् र दोषीमाथि कारबाही होस् : प्रवक्ता श्रेष्ठ


नारायणकाजी श्रेष्ठ

काठमाडौँ, साउन ११ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले न्याय स्थापित गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन् । केहि समयअघि सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उनले ‪के हुदैछ यस्तो ? न्यायालय र सिङ्गै राज्य प्रणाली र ब्यबस्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिदैछ ? भनेर प्रश्न पनि गरेका छन् ।

पत्नी हत्याको अपराधमा जेल पठाइएका सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतबाट हालै भएको कैद छुटको फैसला र चितवनमा सेनाको कुटाइबाट राजकुमार चेपाङको मृत्यु भएको घटनामा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि पोखेका छन् ।

उनले सामाजिक संजालमा लेखेको स्टाटस जस्ताको त्यस्तै

‘के हुँदैछ यस्तो ? न्यायालय र सिंगै राज्य प्रणाली र व्यव स्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिँदैछ ? बास र छाक टार्ने समस्याबाट पीडित गरीब चेपाङ युवाको हत्या संवेदनशील सुरक्षा अंगबाट नै दर्दनाक ढ‌ंगले पिटीपिटी किन गरिन्छ र सुकुम्बासी झुप्रामा आगो किन लगाइन्छ ? कथित दलित भएकै आधारमा बर्बर सामूहिक हत्या किन गरिन्छ ? हद भयो, असह्य भयो’, श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘न्याय स्थापित होस् र दोषीमाथि कारबाही होस् । यो अवाजलाई समयमै सम्बोधन गरौं र राज्यका अ‌ंगहरुको लोकतन्त्र अनुरुप पुन:संरचना गरी लोकतन्त्रलाई व्यवहारत: अभ्यास गरौं र विकास गरौं । अन्यथा निराशा, आक्रोश, अनिश्चय र तरलताको परिणाम के होला ? समयमै सबैले सोचौं । परिणाम सधैं सकारात्मक नै हुन्छ भन्न सकिन्न ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !