२० बैशाख २०८१, बिहिबार

बालुवाटारमा नेकपा सचिवालय बैठकअघि ओली-प्रचण्ड छलफल


ओली-प्रचण्ड बीच बालुवाटारमा छलफल शुरु

काठमाडौँ, साउन ३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज दिउँसो ३ बजे बस्ने सचिवालय बैठकअघि नेताहरु आन्तरिक परामर्शमा व्यस्त भएका छन् । सचिवालय बैठकअघि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

त्यसअघि शनिबार बिहान प्रचण्ड सहितका ५ जना शीर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायाणकाजी श्रेष्ठ बीच खुमलटारमा छलफल भएको थियो । खुमलटारको छलफलमा गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ भने सहभागि भएनन् ।

त्यस्तै बालुवाटारमा पनि ओलीले रक्षामन्त्री समेत रहेका ईश्वर पोखेल, महासचिव विष्णुु पौडेल, विष्णु रिमाल लगायतका नेतासँग छलफल गरेका छन् । ओलीले बालुवाटार र प्रचण्डले खुमलटारमा कसरी अघि बढ्ने भन्नेमा परामर्श गरेको दुवै नेताका निकटस्थहरुले बताएका छन् ।

हिजो शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफलपछि आज साउन ३ गते सचिवालय बैठक बोलाउने सहमति भएको थियो । दुई अध्यक्षको छलफलले स्थायी कमिटी बैठक साउन ४ गते बोलाउने र त्यसअघि सचिवालय समितिको बैठक बस्ने सहमति भएको थियो ।

नेकपाले आन्तरिक विवादमा सहमति खोज्ने प्रयासस्वरुप स्थायी कमिटी बैठक रोकेर शनिबार सचिवालय बैठक बेलाएको हो । तर सचिवालय बैठकका एजेण्डा के हुन् भन्नेकुरा अहिलेसम्म कुनै पनि नेताहरुलाई जानकारी गराइएको छैन ।

खासगरी नेकपामा ओलीको राजीनामाको विषय पेचिलो बनिरहेका बेला स्थायी समिति, सचिवालय र केन्द्रीय समिति भन्दै नेताहरुले एउटै विषयमा छलफल गर्न विभिन्न कमिटीका बैठकको प्रस्ताव गरिरहेका छन् । तर कुन कमिटीबाट के निर्णय गर्ने भन्ने अझै प्रस्ट भइसकेको छैन । सचिवालपछि मात्रै नेकपाको संकट समाधानको यात्राबारे केही तथ्य सार्वजनिक हुने नेकपाका नेताहरु बताउँदै आएका छन् ।

केही दिनदेखि नेकपामा देखिएको आन्तरिक कलह मिलाउन भन्दै बिहीबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । उक्त छलफल पनि निष्कर्षमा पुग्न सकेको छैन ।

पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व सक्रिय भएपनि नेताका अडानले सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन् । प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले जस्तोसुकै परिस्थिति पनि सामना गर्न आफू तयार रहेको तर राजीनामा दिएर जिम्मेवारीबाट नभाग्‍ने बताउँदै आएका छन् ।

यो पनि पढ्नुहोस्

नेकपा सचिवालय बैठक आज ३ बजे बस्दै

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, अर्को बैठक पर्सि असार ४ गते बस्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !