२५ बैशाख २०८१, मंगलबार

पहिलो पटक चुनावी मैदानमा निर्वाचन महिला


pinki-women

कार्तिक २३, काठमाडौँ, सन् २००८ मा नेपालमा पहिलोपटक समलिंगी पुरुष सुनिलबाबु पन्तलाई संविधानसभा सदस्य बनाइएको भए पनि अहिलेसम्म तेस्रोलिंगी महिलाका तर्फबाट भने त्यो तहको निर्वाचनमा कोही पनि होमिएका थिएनन् । तर, यसपटक नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङ (सञ्जीव)ले नयाँ शक्ति नेपालको तर्फबाट उम्मेदवारी दिएकी छन् ।
पिंकीले भनिन्, ‘म नै पहिलो तेस्रोलिंगी महिला हुँ जसले आगामी (प्रदेश तथा प्रतिनिधिसभा) निर्वाचनमा स्थान पाएँ ।’ लमजुङ बिचौर घर भएकी पिंकी २९ वर्षकी भएपछि मात्र तेस्रोलिंगीका रूपमा खुलेकी थिइन् । नीलहीरा समाजमा आबद्ध भएर आफ्नो समुदायका लागि काम गर्दै आएकी उनी नयाँ शक्ति पार्टीको स्थापना कालदेखि सक्रिय थिइन् । नयाँ शक्तिले दिएको अवसरबाट आफू खुसी भएको जानकारी दिँदै उनले आफ्नो समुदायका मानिसलाई अझै परिचालित गर्ने र समुदायको हितका लागि काम गर्ने योजना बनाएको बताइन् । पिंकी भन्छिन्, ‘नेपालमा नौ लाख तेस्रोलिंगी छन् । सम्पूर्ण जनसंख्याको ८.१ प्रतिशत तेस्रोलिंगी छन् तर उनीहरू समाजबाट तिरस्कृत हुन बाध्य छन् । यस्तो भेदभाव हटाउनुपर्नेछ ।’
नयाँ शक्तिकी नेत्री हिसिला यमीले भनिन्, ‘पिंकी सक्षम उम्मेदवार हुन् । नयाँ शक्ति विविधतामा एकताको विश्वास गर्छ । विविधतामा समाजका कुनै पनि लिंग, जातजातिका मानिसको सहभागिता हुनुपर्छ । तेस्रोलिंगीलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्छ । उनीहरू पनि हामीजस्तै मान्छे हुन्, त्यो कुरा समाजले बुझ्नुपर्छ । यो समाजले उनीहरूलाई स्वीकार्नुपर्छ भन्ने सन्देश दिन तेस्रोलिंगीलाई स्थान दिइएको हो ।’
तेस्रोलिंगी महिला पिंकीलाई समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नयाँ शक्तिले सिफारिस गरेको हो । आयोगले सार्वजनिक गरेको समानुपातिकको सूचीमा उनको नाम तीन हजार चार सय ७४ नम्बरमा छ भने नयाँ शक्तिले तीन सय २९ जनाको नाम समानुपातिकमा पठाएको छ । पार्टीले निर्वाचन आयोगमा पठाएको सूचीमा पिंकीको नाम ६ नम्बरमा परेको छ तर समुदायका तर्फबाट भने उनको नाम पहिलो नम्बरमा परेको छ ।

पहिचान मिडियाका अनलाइन सम्पादक माधव दुलालले भने, ‘पिंकीको उम्मेदवारीले तेस्रोलिंगी समुदायका लागि सहयोग मिल्नेछ ।’ तेस्रोलिंगीले राजनीतिमा लागेर मात्रै ऐन, कानुन र अधिकार प्राप्त गर्न सम्भव हुने रहेछ भन्ने बुझिसकेको उनले बताए । भने, ‘उनीहरू आफ्नो समान अधिकारका लागि आवाज उठाइरहेका छन् जसका लागि नयाँ शक्तिले स्थान दिएर गुन लगाएको छ ।’ अहिलेसम्मको यात्रामा नयाँ शक्ति र कांग्रेसले मात्रै आफ्नो घोषणापत्रमा तेस्रोलिंगीलाई समावेश गरेका छन् । राप्रपा र एमालेमा तेस्रोलिंगी समुदायका मानिस संलग्न भए पनि उनीहरूले कुनै अवसर दिएका छैनन् ।

२०७० सालमा माधवकुमार नेपालको अगुवाइमा एक हजार तेस्रोलिंगी एमाले पार्टी प्रवेश गरेका थिए । नेपालले एमाले तेस्रोलिंगीहरूको अभिभावक पार्टी भएको पनि बताएका थिए । तर, एमालेले धोका दिएको दाङकी तेस्रोलिंगी नेत्री शिल्पा चौधरीले बताइन् ।
पार्टीमा लागेर संघर्ष गरिरहेकी शिल्पाले उम्मेदवारको सूचीबाट आफ्नो नाम अन्त्यमा हटाइएको बताइन् । क्षेत्र नम्बर १ को प्रदेश नम्बर २ बाट शिल्पा चौधरीलाई एमालेले सिफारिस गरेको थियो । बलबहादुर चौधरीका रूपमा नागरिकता लिएकी शिल्पाको नाम प्राविधिक कारणले हटाइएको पार्टीले बताएको थियो । देशको ठूलो पार्टीले तेस्रोलिंगी समुदायलाई गरेको विभेदले आफू निकै दुःखी भएको शिल्पाले बताइन् । सिंगो समुदायबाट आफूहरूले हेपिएको महसुस गरेको शिल्पाले बताइन् । उनका अनुसार दाङमा मात्रै १२ सय तेस्रोलिंगी छन् ।
उनी अब बन्ने कुनै पनि आयोगमा कम्तीमा एकजना तेस्रोलिंगी समावेश हुनुपर्ने माग गर्छिन् । ‘तेस्रोलिंगीलाई समेटेर बनाइएका कानुनमात्रै पूर्ण बन्छन्’, उनले भनिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !