१४ बैशाख २०८१, शुक्रबार

नेकपा स्थायी कमिटी बैठक असार २२ गतेसम्म स्थगित


नेकपा स्थायी समिति बैठक फाइल फोटो

काठमाडौँ, २० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको एक स्थायी कमिटि सदस्यले बताएका छन् । प्रयाप्त गृहकार्य गर्न नसकेको र गम्भीर छलफल गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले समय मागेपछि आज बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित भएको हो ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११:०० बजे बस्ने बैठकमा पार्टीमा देखिएको विवाद समाधानको विल्कपमाथि छलफल हुने बताइएको थियो । उनका अनुसार अर्को बैठक असार २२ गते सोमवार बस्ने भएको छ ।

स्थायी कमिटी बैठक बस्नु अघि पार्टीभित्र देखिएको समस्या समाधान गरी पार्टीलाई एकताबद्ध राख्न पार्टी अध्यक्षद्वय केपी शर्मा ओली-पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुने बताइएको थियो । तर प्रयाप्त गृहकार्य नभएको भनेर अध्यक्षद्वयबीच पनि आज बिहान छलफल हुन् सकेन ।

बिहीबार साँझ केहीबेर मात्र बसेको स्थायी समिति बैठकमा नेताहरुले पार्टीको विवाद समाधान गर्न अध्यक्षद्वयलाई जिम्मा दिएपछि शुक्रबार पनि दुबै अध्यक्षबीच छलफल भएको थियो । शुक्रबार दुवै अध्यक्षले छलफल भएर शनिबार स्थायी कमिटी बैठक बस्ने शीर्ष तहमा सहमति भएको थियो । तर ओली र प्रचण्ड दुवै पुरानै अडानमा कायम भएपछि छलफलमा ठोस सहमति भएको छैन ।

नेकपा स्थायी समितिको मंगलबार बसेको बैठक निर्धारित कार्यसूचीभन्दा भिन्न, असार १४ गते मदन जयन्ती कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुलाई पदबाट हटाउन बिभिन्न शक्तिहरु लागेको भनी दिनुभएको अभिव्यक्तिमा केन्द्रित भएपछि विवाद देखिदै आएको छ ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने पक्षमा छन् । स्थायी कमिटी बैठकमा पनि अधिकांश सदस्यहरुले ओलीको राजीनामा मागेका छन् । तर ओलीले भने दुवै पद नछाड्ने अडान लिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !