काठमाडौं । टर्की र सिरियामा भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या २० हजार नाघेको छ । बीबीसीका अनुसार टर्की र सिरिया दुई देशमा भूकम्पमा मृत्यु हुनेको संख्या २० हजार २९६ पुगेको हो ।
हालसम्म भूकम्पमा परी टर्कीमा १७ हजार १३४ र सिरियामा ३ हजार १६२ जनाको मृत्यु भएको छ । यस्तै हजारौँ घाइते छन् भने लाखौँ मानिस घरबारविहीन बनेका छन् ।
बीबीसीका अनुसार उद्धारकर्मीहरूले अझै पनि आफ्नो काम जारी राखेतापनि अब जिवितै उद्धार गर्न सकिने सम्भावना कम हुँदै गएको छ । घाइते र मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूको भनाइ छ ।
भूकम्प प्रभावित क्षेत्रमा राहत पुर्याउने र पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन विश्वका धेरै देशले सहयोग सामग्री पुर्याइरहेका छन् । विश्व स्वास्थ्य संगठनले भूकम्पबाट ती दुवै देशमा गरी दुई करोड ३० लाख मानिस प्रभावित हुने अनुमान गरेको छ ।
तस्वीर सौजन्य : एपी, एएफपी र सिन्ह्वा