१४ बैशाख २०८१, शुक्रबार

सवारी दुर्घटना रोक्न दाङमा २९ जना ब्राह्रामण राखेर त्रिपिंडी श्राद्ध


त्रिपिंडी श्राद्ध

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–८ चमीखोला पुलमा दुर्घटना रोक्नका लागि २९ जना ब्रह्रामण राखेर त्रिपिंडी श्राद्ध गरिएको छ ।

महिला, बालबालिका समेत गरेर हालसम्म करिब १५ जनाको अकालमा ज्यान गएको र अधिकाँस सवारी दुर्घटना पनि सोही पुलमा हुने भएकाले यसलाई रोक्नका लागि त्रिपिंडी श्राद्ध गरिएको आयोजक समितिका उपसंयोजक जितबहादुर खड्काले जानकारी दिए ।

बढ्दो सवारी दुर्घटना रोक्न स्थानीयहरुले आफै पैसा उठाएर २९ जना ब्राह्रामण बोलाएर पुजापाठ गरेका हुन् । घुम्ति समेत रहेको उक्त पुलबाट ट्रक, ट्याक्टर, जिप, मोटरसाईकल, अटो समेत गरेर अहिलेसम्म करिब आधादर्जन सवारीसाधन खोलमा खसेका छन् भने सडकमा दर्जनौ सवारी दुर्घटना भएको स्थानीयहरुले बताएका छन् ।

ऋग्वेद, यजुर्बेद, सामवेद, अथर्ववेद श्रीमदभागवत, पितृ सुद्ध गरेर पाठ गरेपछि भूत, प्रेत, मसानको गति मुक्ती हुने र सवारी दुर्घटना नहुने धार्मिक विश्वास रहेको बह्रामण खगेन्द्र प्रसाद बस्यालले जानकारी दिए । ‘अन्यन्त्र नहुने यही पुलमा मात्रै घटनाहरु भइरहन्छन् । यसको पक्कै कारण भूत, प्रेत र मसानका कारण भएको हामीलाई लाग्यो र वैदिक विधिअनुसार चार वेद पाठ गरेर त्रिपिंडी श्राद्ध गरेका हौं । अब पक्कै पनि यहाँ दुर्घटना हुँदैन । ढुक्क भए हुन्छ ।’ ब्राह्रामण बस्यालले भने ।

तुलसीपुर उपमहानगरपालिका–७ को ग्वारखोलामा पनि दिउँसै ढुंगा, डल्ला र बालुवाले हान्ने तर मान्छे नदेखेर डराइरहेको अवस्थामा ब्राह्रामण राखेर त्रिपिंडी श्राद्ध गरेपछि घरमा हान्न छाडेको ब्राह्रामण दुर्गा प्रसाद भुसालको दाबी छ । यसो गर्दा निधन भएका व्यक्तिको उद्धार र आगामी दिनमा यस्ता घटना नहुँने ब्राह्रामणहरु बताउँछन् ।

तुलसीपुरदेखि हापुरे हुँदै सुर्खेत जोड्ने सडकमा पर्ने चमीखोलाको पुल तुलसीपुर बजारदेखि करिब २ किलोमिटर पश्चिममा पर्दछ । उक्त सडक संचालमा आएदेखि सबैभन्द बढी सवारी दुर्घटना त्यही भएको स्थानीयहरु बताउँछन् । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार राजधानी दैनिकमा ओपेन्द्र बस्नेतले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !