५ जेष्ठ २०८१, शनिबार

श्रीलंका महासंकटमा : राष्ट्रपति फरार, प्रधानमन्त्रीद्वारा राजीनामा


श्रीलंका प्रदर्शन

कोलम्बो । श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार अकस्मात् पदबाट राजीनामा दिएका छन् । पार्टी बैठकमा प्रस्ताव गर्दा ‘तत्काल राजीनामा नदिन’ आग्रह गर्दासमेत उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

‘आफ्नो राजीनामाले देशको समस्या समाधान हुन सहयोग पुग्ने’ विक्रमासिंघेको कथन छ । ‘अब राष्ट्रपतिलाई समेत राजीनामा दिन मद्दत पुग्ने’ उनको विश्वास छ । श्रीलंकामा आर्थिकसँगै राजनीतिक संकट उत्पन्न भएको छ ।

आर्थिक संकटका कारण रुष्ट जनताको विरोधका कारण यसअघि तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्ष पनि राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री रनिल विक्रमासिंघेले ‘संसद्लाई श्रीलंका टाट पल्टिँदै गरेको’ बताएका छन् ।

राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा माग गर्दै देशमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएको छ । प्रदर्शनकारी राष्ट्रपति भवनभित्र पसेपछि राष्ट्रपति गोताबाया राजापाक्षे भागेका छन् ।

हजारौं आक्रोशित प्रदर्शनकारी प्रवेश गरेपछि श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्ष निवासबाट बाहिरिएका हुन् । शनिबार निवास बाहिर प्रदर्शन चर्किएपछि उनी सुरक्षित स्थानतर्फ प्रस्थान गरेको डेली मिरर दैनिकले जनाएको छ । राष्ट्रपति निवासको सुरक्षा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै राजधानीका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ ।

यसअघि, आन्दोलनकारीले विरोध प्रदर्शन तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । स्थानीय समयअनुसार शुक्रबार राति ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म आदेश कायमै रहने प्रशासनले जनाएको छ ।

प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्यकोलम्बोमा कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्यु कार्यान्वयनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् ।

राष्ट्रपति गोटावाया राजापाक्षले ‘मुलुकको संकट समाधान गर्न नसकेकाले पदमा बसिरहन नमिल्ने’ भन्दै उनको राजीनामाको माग गर्दै शनिबार विरोध प्रदर्शन गरेका हुन् ।

आर्थिक संकट, इन्धन अभाव, मूल्यवृद्धि न्यूनीकरण गर्न नसकेकाले ‘पदमा बसिरहनुको औचित्य नरहेको’ प्रदर्शनकारीको भनाइ छ । आफ्नो जिम्मेवारीमा असफल भएकाले उनले तत्काल राजीनामा दिनुपर्ने प्रदर्शनकारीले माग गरेका छन् । राष्ट्रपतिकै राजीनामा माग्दै आन्दोलन चर्किएपछि प्रधानमन्त्रीबाट राजीनामा आएको हो ।

प्रधानमन्त्रीको राजीनामापछि बाहिरबाटै श्रीलंकाका राष्ट्रपतिले सबै दलको आपतकालीन बैठक बोलाएका छन् । उनी ‘अब कसरी मुलुकको समस्या समाधान गर्ने ?’ भनेर राय लिने प्रयासमा छन् । तर, उनको राजीनामा मागसहित सार्वसाधारणको आन्दोलन चर्किरहेको छ ।

केही ठाउँमा आन्दोलनकारीले कफ्र्युसमेत उल्लंघन गरेपछि प्रहरीले अश्रुग्याससहित गोली चलाएको छ । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !