५ जेष्ठ २०८१, शनिबार

हत्या गरेको अभियोग लागेकालाई सफाइ दिएपछि न्यायाधीश भट्टराई विवादित


न्याय_नियम_अदालत

काठमाडौं । गोली चलाएर हत्या गरेको अभियोग लागेकालाई सफाइ दिएपछि धनुषा जिल्ला अदालतका न्यायाधीश डा. पर्शुराम भट्टराई विवादको घेरामा परेका छन् ।

६ कात्तिक २०७६ मा धनुषा जनकपुरधाम उपमहानगरपालिका–१ का पेट्रोल पम्प सञ्चालक मनोज साहको गोली प्रहार गरी हत्या भएको अभियोगमा पक्राउ परेका ‘पंकज’ भनिने दामोदर चौधरीलाई न्यायाधीश भट्टराईको एकल इजलासले सफाइ दिएपछि उच्च अदालत जनकपुर बार एसोसिएसनले फैसलालाई ‘विवादास्पद’ भनेको छ ।

प्रहरी अनुसन्धानमा चौधरीले आफूले हत्या गरेको स्वीकार गरेको रिपोर्ट सार्वजनिक भएको थियो । तर, अदालतमा भने चौधरीले ‘इन्कारी बयान’ दिएका थिए ।

सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा अभियुक्त चौधरीलाई आजीवन कैद सजाय माग दाबी गरेको थियो । तर, न्यायाधीश डा. भट्टराईको एकल इजलासले ‘प्रमाणको आधार र कारण नपुग्ने’ भन्दै सफाइ दिने फैसला सुनाएको थियो ।

अभियोग लागेकाले अदालतमा ‘इन्कारी बयान’ दिएको र ‘मृतक आफैंले पेस्तोल बोकेर आफूलाई मार्न आएको’ बयान चौधरीले दिएका छन् । सोही बयान आधार मान्दै न्यायाधीश भट्टराईले चौधरीलाई सफाइ दिएको जनाएका छन् । यद्यपि, फैसलाको पूर्णपाठ नआइसकेकाले चौधरीले ‘केकसरी सफाइ पाए ?’ भन्ने खुलेको छैन ।

गोली काण्डमा मुछिएकालाई सफाइ दिएपछि नेपाल बार एसोसिएसन उच्च अदालत जनकपुरले न्यायाधीश भट्टराईलाई कारबाही माग गर्दै ‘यसअघि भएका विवादास्पद फैसला संकलन गरेर न्यायपरिषद् सचिवालयमा पठाउने’ निर्णय गरेको छ ।

उच्च अदालत जनकपुर बार एसोसिएसन सचिव नवलकुमार मण्डलका अनुसार कार्यसमिति बैठक बसेर विवादास्पद फैसला अध्ययनका लागि न्यायपरिषद् पठाउने निर्णय गरिएको छ ।

अभियुक्त चौधरीलाई प्रहरीले दुई थान पेस्तोल र २२ राउन्ड गोलीसहित पक्राउ गरेको थियो । १ मंसिर २०७६ मा दर्ता मुद्दामा न्यायाधीश भट्टराईले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएका हुन् ।

मुद्दा फैसला विवादमा मुछिएपछि न्यायाधीश भट्टराईले ‘कुनै वकिलले मेरो नाममा पैसा बुझे होलान्’ भन्ने अभिव्यक्तिका कारण उच्च अदालत जनकपुर बारले आपत्ति जनाएको छ । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !