१४ बैशाख २०८१, शुक्रबार

महान्यायाधिवक्ता खम्मबहादुर खातीविरुद्ध सर्वोच्चमा रिट दायर


खम्मबहादुर खाती

काठमाडौं । बालिकामाथि भएको भनिएको बलात्कार घटनाको मुद्दा ‘कमजोर बनाउन दिएको दबाब नमान्दा आफ्नो सरुवा गरेको’ भन्दै सरकारी वकिलले महान्यायाधिवक्ता खम्मबहादुर खातीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा कार्यरत संगीता थोकरले सर्वोच्चमा रिट दायर गरेकी हुन् । रिटको पहिलो पेसी बिहीबारका लागि तोकिएको छ । जिल्ला अदालत ललितपुरमा विचाराधीन एक व्यापारीविरुद्धको बलात्कार मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता खातीले दबाब दिएको थोकरको दाबी छ । सो निर्णयविरुद्ध सुरुमा दिएको निवेदन सर्वोच्चका रजिस्ट्रारले दरपिठ गरेका थिए ।

सर्वोच्च प्रशासनले दरपिठ गरेपछि उनले इजलासमा निवेदन दिएकी थिइन् । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले निवेदन दर्ता गर्न आदेश दिएको थियो ।

सो आदेशपछि बुधबार सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो । व्यापारी सुशील चटौतविरुद्ध दर्ता भएको जबर्जस्ती करणी मुद्दामा आफू अभियोजनकर्ता भएको र पटकपटक महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा कमजोर बनाउन दबाब आएको रिटमा जिकिर गरेकी छन् । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !