२४ बैशाख २०८१, सोमबार

गाउँ र टोलमा मात्रै ​स्मार्ट लकडाउन


लकडाउन

काठमाडौं । सरकारले स्थानीयस्तरमा कोभिड–१९ को जोखिमको अवस्था हेरेर वडाभित्रको गाउँ तथा टोलमा मात्र पनि ​स्मार्ट लकडाउन गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ ।

यसअघिको लकडाउनमा कुनै स्थान विशेषमा कोरोनाको जोखिम बढ्दा पूरै जिल्लाभरि लकडाउन गर्ने गरिएको थियो ।

यस पटक स्मार्ट लकडाउन विधि अपनाएर सरकारले जहाँ समस्या देखियो, त्यहीँ मात्र लकडाउन गर्न सक्ने गरी काम गर्न स्थानीय प्रशासनलाई निर्देशन गरेको छ ।

कोभिड–१९ सङ्कट समन्वय व्यवस्थापन केन्द्र (सीसीएमसीसी)का प्रवक्ता एवं सहसचिव सुनिता नेपालका अनुसार स्मार्ट लकडाउनमा समस्या देखिएका निश्चित क्षेत्रलाई मात्र विशेष निगरानी गरिने भएकाले पहिलेको जस्तो पूरै जिल्लाभरि लकडाउन नहुने र वडास्तरको गाउँ तथा टोलमा मात्र पनि लकडाउन गर्न सकिनेछ ।

प्रवक्ता नेपालले भनिन्, “लकडाउन भन्ने बित्तिकै पूरै जिल्ला वा देशभरि हुने भन्ने होइन; अब जहाँ समस्या छ, त्यहीँ मात्र लकडाउन हुन्छ । बाँकी क्षेत्रमा दैनिक जनजीवन सामान्य अवस्थामा सञ्चालन हुनेछन् । त्यसैले यसलाई स्मार्ट लकडाउन भनिएको हो ।”आजको गोरखापत्र दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !