१४ बैशाख २०८१, शुक्रबार

बेमौसमी वर्षाले ९३ हजार हेक्टरको ६ अर्ब मूल्य बराबरको धानबालीमा क्षति


अविरल वर्षाले चितवनको ३० प्रतिशत धानबालीमा क्षति

काठमाडौं । बेमौसमी अविरल वर्षाका कारण किसानले घर भित्र्याउँदै गरेको ६ अर्ब रुपैयाँ बराबरको धानबालीमा क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार विभिन्न तीनवटा प्रदेशमा करिब ६ अर्ब मूल्य बराबरको धानबालीमा पुगेको हो । बेमौसमी अविरल वर्षाका कारण लम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र १ नम्बर प्रदेशको धानबालीमा क्षति पुगेको छ ।

कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बेमौसमी वर्षाका कारण सबैभन्दा धेरै लुम्बिनी प्रदेशका १० जिल्ला र सुदूरपश्चिमको कैलाली र कञ्चपुरको धानबालीमा क्षति भएको जानकारी दिए । उनले अन्य प्रदेशमा खासै क्षति नपुगेको बताए ।

प्रवक्ता सञ्जेलका अनुसार लुम्बिनीमा ९३ हजार ५ सय ७६ हेक्टर जमिनमा असर परेकोमा ४२ हजार ४ सय २७ हेक्टरमा लगाएको धान बालीमा क्षति भएको छ । यसैगरी उत्पादन परिमाणमा भन्नुपर्दा १ लाख ६१ हजार २ सय २३ मेट्रिक टन धानमा क्षति पुगेको छ । लुम्बिनी प्रदेशमा १ लाख ६१ हजार २ सय २३ मेट्रिक टन धानको रकममा भन्नु पर्दा करिब ४ अर्ब ५५ करोड मूल्य बराबरको धानमा क्षति पुगेको पूर्वानुमान गरेको छ ।

मन्त्रालयको तथ्यांकअनुसार लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखार्ची, नवलपरासी, रूपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, रुकम पर्व, प्युठान, रोल्पामा धान बालीमा क्षति भएको छ ।

सुदूरपश्चिम प्रदेशको दुईवटा जिल्ला कैलालीमा ५० प्रतिशत र कञ्चपुरमा ४० प्रतिशत धानमा क्षति भएको छ । प्रवक्ता सन्जेलले भने, ‘कैलाली र कञ्चपुरमा करिब १० देखि १५ हजार हेक्टर धानबालीमा क्षति भएको छ । उत्पादन परिमाणमा भन्नुपर्दा ४१ हजार ८ सय मेट्रिक टन धानको क्षति भएको छ ।

त्यसलाई रमकमा भन्दा सुदूरपश्चिम प्रदेशमा करिब १ अर्ब १७ करोड धानमा क्षति भएको छ,’ उनले भने, ‘प्रदेश १ को प्रारम्भिक जानकारीअनुसार १५ प्रतिशत क्षेत्रफलमा असर परेको छ भने ५ देखि ७ प्रतिशत क्षेत्रफलमा लगाएको धान बालीमा क्षति पुगेको छ । यस्तै, १० देखि १५ हेक्टर क्षेत्रफलमा क्षति पुगेको अनुमान छ ।’

लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश १ ले बिहीबारसम्म मन्त्रालयलाई जानकारी गराएको तथ्यांकअनुसार करिब ६ अर्ब रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको अनुमान गरिएको प्रवक्ता सन्जेलले बताए ।

प्रवक्ता सन्जेलले कृषि मन्त्रालयले वर्षाका कारण सातवटै प्रदेशमा धानबालीमा के कति क्षति पुगेको छ, त्यसबारे अध्ययन गर्न टोली पठाइसकेको जानकारी दिए । उनले सो कार्य टोलीले प्रदेश क्षेत्रमा भएको क्षति मूल्यांकन गर्ने, क्षति भएको संकलन गरेको तथ्यांकमा समन्वय गर्ने, प्रदेशमा राहतका कार्यक्रम के कस्ता छन्, बजेटको अवस्था के कस्तो छ र संघीय सरकारबाट प्रदेश सरकारको के अपेक्षा गरेको होलगायतका विवरण सो टोलीले संकलन गर्ने बताए ।

यसैगरी, उनले यस वर्षको बेमौसमी वर्षाका कारण समग्र राष्ट्रिय धान बालीमा कस्तो असर पर्यो सो अध्ययनसमेत सोही कार्य टोलीले गर्ने बताए । उनले अहिले धानबालीको मात्र क्षतिको विवरण यो वर्षाले माछापालन व्यवसायमा समेत क्षति भएको हुन सक्ने बताए ।

प्रवक्ता सन्जेलले सबै प्रदेशमा भएको क्षतिको यकिन तथ्यांक आइपुगेपछि क्षतिको मूल्यांकन गरी किसानलाई राहत वितरण गर्ने बताए । बाढीपहिरोले कृषि क्षेत्रमा क्षति पुग्दा किसानलाई राहत दिन मन्त्रालयसँग जम्मा ५ करोड बजेट मात्र छ । प्रवक्ता सन्जेलले भने, ‘मन्त्रालयसँग भएको बजेटले मात्र किसानले राहत वितरण गर्नु पक्कै पुग्दैन ।

थप बजेटका लागि अर्थ मन्त्रालयसँग माग गर्नुपर्छ,’ उनले भने, ‘अहिले कृषि मन्त्रालय सातैवटा प्रदेशमा भएको सम्पूर्ण क्षतिको विवरण संकलन गरी क्षतिको तथ्यांकको मूल्यांकन गरेर किसानलाई राहत वितरण गर्ने कार्य योजना बनाएर मन्त्रालयले काम गरिरहेको छ ।’ यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !