२३ बैशाख २०८१, आइतबार

संखुवासभा सामूहिक हत्याको बारेमा विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी टोली


संखुवासभा सामूहिक हत्या

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका ६ जनाको विभत्स हत्याको घटना रहस्यमयी भएको भन्दै प्रहरीले सूक्ष्म अध्ययन सुरु गरेको छ । सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको जानकारी पाएपछि स्थानीय प्रहरी, इलाका प्रहरी चैनपुर र जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी पुगेको थियो ।

घटनास्थल पुगेका प्रहरीले ६ जनाको शव घरवरिपरि विभिन्न स्थानमा छरपस्ट भेटेका थिए । जिल्ला प्रहरीले मात्र घटनाको पर्याप्त अनुसन्धान गर्न नसक्ने देखेपछि संघीय प्रहरी एकाइ धरानबाट तालिम प्राप्त कुकुरसहित प्रहरीको विज्ञ टोलीलाई बोलाइएको थियो । सो टोलीले घटनास्थलको सूक्ष्म अध्ययन गरेपछि शव पोस्टमार्टमका लागि मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

घटनाको थप अध्ययनका लागि तालिम प्राप्त कुकुरसहितको विज्ञ र प्रहरी टोली अभियुक्त पत्ता नलागेसम्म घटनास्थलमा नै रहने जनाइएको छ । घटनालाई थप अध्ययन तथा घटनासँग सम्बन्धितलाई पक्राउ गर्न सीआईबीको टोली पनि घटना स्थलमा आइसकेका छन् ।

प्रहरी र स्थानीयको जानकारीअनुसार तेजबहादुरको शव घरदेखि करिब ७० मिटर पर सडकको भित्तामा, पार्वतीको घरैमा सुतिरहेको अवस्थामा, कमला र रञ्जनाको घरनजिकैको खोल्सीमा र दिपेन र गोमाको घरमाथि खरबारीमा शव फेला परेको थियो । यो समाचार आजको राजधानी दैनिकमा भविन कार्कीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !