२४ बैशाख २०८१, सोमबार

सशस्त्रका अधिकांश एसएसपी बढुवाको रिङबाहिर, तीन डीआईजी रिक्त भए पनि दुई जना मात्र योग्य


APF-Police-Nepal

काठमाडौं । सशस्त्र प्रहरी बलमा हाल तीन जना नायब महानिरीक्षक (डीआईजी) पद रिक्त भए पनि दुई जनाको मात्र बढुवा हुने भएको छ । डीआईजीका लागि आवश्यक तालिम दुई जनाबाहेक कोही पनि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले नगरेकाले यो स्थिति आएको हो ।

सशस्त्र प्रहरीमा डीआईजी हुन सुरक्षा व्यवस्थापन तालिम वा उच्चस्तरीय व्यवस्थापन तालिम वा स्टाफ कलेज वा ब्रिगेडियर तालिम वा नेसनल डिफेन्स कोर्स गरेकै हुनुपर्छ । २१ दिने यो तालिम एसएसपी कालीदास धौबजी र कुमार न्यौपानेले मात्रै गरेका छन् ।

नेपाल प्रहरीमा २६ वर्षअघि प्राविधिक नायब निरीक्षक (सई) मा प्रवेश गरेका उनीहरूलाई नै डीआईजी बनाउनुको विकल्प बढुवा समितिसँग पनि छैन । उनीहरू डीआईजीमा बढुवा हुँदा नेपालको सुरक्षा संगठनको इतिहासमै प्राविधिक सई यति माथिल्लो निकायमा पुगेको पहिलो घटनासमेत बन्नेछ ।

सशस्त्र मुख्यालयले बुधबार डीआईजीको बढुवा प्रक्रिया अगाडि बढाएको थियो । मानवस्रोत विभागमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेल आएलगत्तै बढुवा प्रक्रिया सुरु भएको हो ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउन दिइएको तीनदिने समयसीमा आज शुक्रबार सकिने भएकाले सम्भवतः आजै उनीहरूलाई डीआईजी सिफारिस गरिनेछ ।

सशस्त्र प्रहरी नियमवाली २०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ ।

जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहने उल्लेख छ । यो समाचारराजधानी दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !