२५ बैशाख २०८१, मंगलबार

माधव समूहले गुटगत भेला राखेको भन्दै ओली समूह सशंकित, अब के गर्लान् ओली ?


माधव समूह

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह पछिल्ला दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहसँग केही सफ्ट देखिए पनि आफ्नो गुटगत भेलालाई भने जारी नै राखेको छ । बुधबार राजधानीमा बसेको नेपाल समूहको छुट्टै भेलाले विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउने भूमिका अध्यक्ष ओलीकै हुने भन्दै त्यसको पहलकदमी ओलीले नै गर्नुपर्ने आवश्यकता औंल्याएको हो ।

तर, उसले गुटगत भेला जारी राखेको भन्दै ओली समूह भने रुष्ट छ । ओली समूहले नेपाल समूहमाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारी बोकेर एमालेमा वितण्डा मच्चाउन सक्ने भन्दै सचेतता अपनाइएको बताएको छ । भेलामा सो समूहले पार्टीका विभिन्न कमिटीका बैठक बसालेर पार्टीलाई चलायनमान बनाउनसमेत अध्यक्ष ओलीसँग माग गरेको छ । तर, ओली पक्षले भने बाहिर एक थोक भन्ने तरभित्र अर्कै रणनीति बनाउन सक्ने भन्दै त्यसको निगरानीसमेत गरिने जनाएको छ ।

नेपाल समूहले अब एमालेको एकता जोगाएर शक्तिशाली र जनप्रिय पार्टी बनाउने प्रमुख दायित्व अध्यक्ष ओलीकै भएको निष्कर्ष निकालेको छ । यसका लागि अध्यक्ष ओलीले नै आवश्यक भूमिका खेल्नुपर्ने निष्कर्षसमेत सो समूहले निकालेको छ । स्रोतका अनुसार भेलामा वरिष्ठ नेता नेपालले अब सबैले विगतमा गरेका कमीकमजोरी सच्याएर एकजुट भएर अघि बढ्न सबै पक्ष तयार हुनुपर्ने बताएका थिए । दुवै पक्षमा रहेको शंका उपशंका हटाउन पनि बैठक अनिवार्य रहेको बताइएको छ ।

भेलामा सबै सदस्यले एमालेलाई शक्तिशाली बनाएर अघि बढ्नुपर्ने र त्यसका लागि एकताबद्ध पार्टी निर्माणको पहल अध्यक्षबाटै गरिनुपर्नेमा जोड दिइएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए । भेलामा अधिकांशले वामपन्थीबीचको एकता कायम गर्नुपर्ने र सरकार पनि वामपन्थीकै बनाउनुपर्नेमा जोड दिएका थिए । ‘तत्काल पार्टी एकता होला–नहोला तर नेपालभरिका वामपन्थीबीचको एकतालाई कायम राख्दै सरकार पनि वामपन्थीकै बनाउनुपर्छ भन्ने सुझाव पनि प्राप्त भयो,’ पन्तले भने ।

एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारसमेत रहेका पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले प्रचण्डको योजनाअनुसार नेपाल समूह अझै पनि एमालेलाई फुटाउने षड्यन्त्रमा लागिरहेकाले उनीहरूलाई पूर्णरूपमा विश्वास गर्न नसक्ने अवस्था रहेको बताए । आजको राजधानी दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !