२० बैशाख २०८१, बिहिबार

कांग्रेस महाधिवेशन अन्योलमा, असारमा गर्ने देउवाको संकेत


शेर बहादुर देउवा

काठमाडौँ, असोज २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न हुनेमा अन्योल बढेको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार ७ देखि १० फागुनका लागि तोकिएको महाधिवेशनको सुरु कार्यतालिका नै कोरोनाका कारण प्रभावित भएपछि महाधिवेशन कहिले हुने भन्नेमा कांग्रेस आफैं अन्योलमा छ ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय महाधिवेशनबारे के गर्ने भन्ने केही छलफल नै नभएको बताए । ‘अहिले त केही कुरा भएको छैन र यसै भन्न सकिने अवस्था पनि छैन, मिटिङ स्थगित भएको छ, पछि छलफल होला,’ महतले भने ।

कांग्रेसले महाधिवेशनबारे छलफल गर्न भन्दै पछिल्लो पटक २५ असोजका लागि बोलाएको केन्द्रीय समिति बैठक केन्द्रीय सदस्यहरूमा कोरोना संक्रमण पुिष्ट भएपछि स्थगित गरिसकेको छ । अर्को बैठक कहिले बस्ने भन्ने बारे कुनै निर्णय भइसकेको छैन ।

‘कोरोनाकै कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको छ, अनौपचारिक छलफलमा जेठ अन्तिम वा असार पहिलो साता गर्ने भन्नेमा सभापतिको संकेत आएको छ,’ सभापति देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले भने ।

कांग्रेसले पछिल्लो पटक २२ असारमा कोरोना संक्रमणको कारण देखाउँदै पार्टी संरचना समायोजनदेखि क्रियाशील सदस्यता वितरण र पार्टीका तल्ला तहका सबै संरचनाको अधिवेशनको मिति हेरफेर गरेको थियो ।

कांग्रेसले केन्द्र बाहेकका तल्ला तहका अधिवेशनको मिति कार्यतालिका प्रभावित भएपछि यसअघि नै दुई पटक सारेको थियो । यस पटक समेत केन्द्रीय समिति बैठकबाट कांग्रेसले केन्द्रीय महाधिवेशनसहित सबै अधिवेशन सार्ने तयारी गरेको थियो ।

अन्तरिम संरचना समायोजन र क्रियाशील सदस्यता वितरणका लागि पछिल्लो पटक तोकेको म्याद सकिएर कार्यतालिका प्रभावित भएसँगै आगामी केन्द्रीय समितिबाट फेरि कार्यतालिका परिमार्जन गर्ने तयारी कांग्रेसको छ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !