२५ बैशाख २०८१, मंगलबार

नेकपाभित्रको किचलोले मन्त्रीमण्डल पुनर्गठन अन्योल


ओली-प्रचण्ड फाइल फोटो

काठमाडौं, असोज २२ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र भागवण्डाको कारण मन्त्रीमण्डल पुनर्गठनको प्रक्रिया अन्योलमा परेको छ । मन्त्रीमण्डल पुनर्गठनका लागि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तीन सातादेखि छलफल भए पनि सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको काममा पार्टीले हस्तक्षेप गर्न नहुने अडान लिँदै आउनुभएको छ भने पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको निर्देशनअनुसार सरकार सञ्चालन हुनुपर्ने अडान राख्दै आउनुभएको छ, जसको कारण दुई अध्यक्षबीच सहमति जुट्न सकिरहेको छैन ।

पार्टीले सरकारको कामलाई थप प्रभावकारी बनाउन मन्त्रीमण्डल पुनर्गठन गर्नुपर्ने निर्णय गरेको तीन साताभन्दा बढी समय बितिसक्दा समेत कार्यान्वयन नभएको भन्दै नेताहरुले प्रधानमन्त्री ओलीसँग असन्तुष्टि जनाउँदै आएका छन् ।

पार्टीको स्थायी कमिटी बैठले राजनीतिक र संवैधानिक नियुक्ति गर्दै पार्टीभित्र सल्लाह गरेर मात्र गर्नुपर्ने निर्णय गरे पनि प्रधानमन्त्री ओलीले बेलायतका लागि लोकदर्शन रेग्मी र अमेरिकाका लागि डा. युवराज खतिवडालाई सिफारिस गरेपछि नेकपाभित्र विवाद पुनः शुरु भएको छ ।

चार महिनासम्म जारी आन्तरिक विवाद समाधान गर्न सफल हुनुभएका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अहिले पार्टीको निर्णय नमानेको प्रचण्डले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरुलाई ब्रिफिङ गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले तत्कालको लागि खाली रहेको तीन मन्त्रालयमा नयाँमन्त्री थप्ने र बाँकी मन्त्रीहरुको विषयमा परामर्श गर्दै जाने प्रस्ताव गरे पनि प्रचण्ड भने एकपटक मन्त्रीहरु हेरफेर गर्नुपर्ने अडानमा रहँदै आउनुभएको छ । अहिलेकै अवस्थामा मन्त्रीमण्डल पुनर्गठन गर्दा पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन मिलाएर मन्त्री बनाए प्रचण्ड र नेपाल पक्षका मन्त्रीहरु बढी हुने बुझाइ प्रधानमन्त्री ओलीको रहेको बताइएको छ ।

मंगलबार बसेको सचिवालय बैठकमा पनि विषय केन्द्रित भएर छलफल गर्ने भन्दा पनि एजेन्डाभन्दा बाहिरको विषयमा कुराकानी भएको थियो । दुई अध्यक्षबीच दिनहुँजसो छलफल भए पनि ठोस सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री ओलीले पार्टीभित्र परामर्श नै नगरी दुई राजनीतिक नियुक्तिको लागि सिफारिस गर्ने निर्णय गरेपछि पार्टी अध्यक्ष प्रचण्ड रुष्ट हुँदै आउनुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !