१८ बैशाख २०८१, मंगलबार

पत्रकार मरहठ्ठा नगदसहित सम्मानित


Patrakar Samman

१ चैत, काठमाण्डौ  । जनसवाल पब्लिकेशन प्रा.लि र नेपाल विश्व सहयोग संघ एनएजिसिले एनएजिसि पत्रकारिता पुरस्कार–२०१७ बाट पत्रकार किरणबाबु मरहठ्ठालाई एक लाख नगदसहित सम्मान गरेको छ ।

रिपोर्टर्स क्लब नेपालमा जनसवाल पब्लिकेशन प्रा.लिले आयोजना गरेको सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिताको क्षेत्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि संघीय संरचना अनुरुप विकास गर्नुपर्ने बताएका छन् ।

उनले भने,‘आजको दिनमा जनसवालजस्तो पत्रिकाले एक लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गर्यो, पत्रकारितामा लागेकाहरुको लागि यो भन्दा ठूलो उत्प्रेरणा के हुन सक्छ ? अर्को कुरा एउटा मिडिया हाउसले विभिन्न संस्थासँगको सहकार्यमा एक लाख रुपैयाँको पुरस्कार प्रदान गर्नु चानचुने कुरा होईन, मेरो आकंलनमा यो पिन्ट्र मिडियाले प्रदान गरेको सबैभन्दा ठूलो पुरस्कार हो, आगामी दिनहरुमा पनि यसरी नै प्रगती र उन्नती गर्दै जानुहोला रामजी बगालेजीलाई हार्दिक बधाई तथा शुभकामना दिन्छु ।’

अध्यक्ष आचार्यले भने,‘केही समय अघि प्रदेश नम्बर २ मा सम्पन्न महासंघको बैठकले संघीय संरचनाका आधारमा महासंघलाई अघि बढाउने निर्णय गरेको छ, आगामी बैसाख २२ गते प्रदेशको निर्वाचन हुँदैछ, त्यसमा सहभागी हुन अनुरोध गर्छु, अर्को कुरा साना मिडिया र सञ्चार गृहलाई सरकारले प्रदान गर्ने विज्ञापन समान रुपमा वितरण गर्नुपर्छ भन्नेमा महासंघ लाग्ने छ, जनसवाल राष्ट्रिय दैनिकले जुन किसिमका कामहरु गर्दै आएको छ यसको निरन्तरता दिँदै जाओस् ।’

महासंघमा पारिश्रमिक नपाएर धेरै निवेदनहरु आएको उल्लेख गर्दै आचार्यले भने,‘धेरै मिडियाहरुलाई हामीले भन्नु परेको छ तर यस पत्रिकाले यसरी कर्मचारी पालेर सम्मान गर्नसक्यो, आँफैपनि पत्रकार भएको कारण सम्पादक बगालेज्यूले पत्रकारिता र पत्रकारहरुको पीडा बुझ्नुभएको छ, यसरी नै राम्रा काम गर्दै जानुहोला भन्ने मेरो उहाँलाई शुभकामना छ।’

त्यस्तै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पत्रकारितामा चुनौति र अवसर उत्तिकै भएको टिप्पणी गरे ।

सम्मानित मरहठ्ठालाई शुभकामना दिँदै सभापति धमलाले पत्रकारितामा लाग्ने व्यक्तिले समाजलाई माथि उठाउने र विसंगति–विकृतिको अन्त्य गर्ने लक्ष्य राखेर आउनुपर्ने सुझाव दिए ।

उनले भने,‘अगामी दिनहरुमा हाम्रो पत्रकारिता जगत फरक रुपमा अघि बढ्नुपर्छ, नेपाली समाजमा भएका विकृति–विसंगतीलाई अन्त्य गर्नको लागि आउनुपर्छ, संख्या भन्दा पनि गुणस्तरलाई ध्यान  दिदै अघि बढ्नुपर्छ, यस जनसवालले जुन काम गर्यो सारै राम्रो काम हो, आगामी दिनहरुमा पनि यस्ता कार्र्यहरु गर्दै जानुपर्छ, पत्रकारिताको विकास र विस्तारको लागि ठूलो योगदान हुनेछ ।’

जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगालेले पत्रकारहरुको क्षमता बृद्धि तथा उत्प्रेरणाको लागि पत्रकारिता पुरस्कार स्थापना गरिएको बताए ।

उनले भने,‘पत्रकारीताको क्षेत्रमा लागेर निरन्तर समाज र समाजमा रहेका विभेदका आवाजहरु, सत्य सूचनाहरुलाई जनताकोबीचमा ल्याउने पत्रकारहरुको लागि हामीले प्रत्येक वर्ष यस्ता पुरस्कारहरु प्रदान गर्दै आएका छौँ ।’

उनले भने,‘आगामी दिनहरुमा पनि यो क्रम जारी रहन्छ, अरु थप विधामा पनि यस्ता खालका पुरस्काहरु प्रदान गर्नेछौँ, पत्रकारिता समाजको भीन्न अंग हो, यसमा लागेर समाजको उत्थान र मुलुकको विकासमा टेवा पुर्याउने पत्रकारहरुको लागि हाम्रो टिम सँधै लागि रहनेछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !