२५ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी प्रदान


प्रधानमन्त्री रोजगार कार्यक्रम

दमौली, १३ जेठ । तनहुँको बन्दीपुर गाउँपालिका –५को झारगाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक ढलान शुरुवात गरिएको छ । सो कार्यक्रमको रु तीन लाख २३ हजार र गाउँपालिकाको रु छ लाख गरी कूल रु नौ लाख २३ हजारको लागतमा ९० मिटर सडक ढलान गरिने गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङले जानकारी दिनुभयो । सो कामका लागि करिब ३० दिन लाग्ने अनुमान गरिएको छ । उक्त कार्यका लागि १६ जनाले रोजगारी पाएका छन् ।

“झारगाउँ जाने बाटो अप्ठ्यारो भएकाले ढलान गरेर सजिलो बनाउन लागिएको हो”, उहाँले भन्नुभयो, “सो कामका लागि गाउँपालिकाले निर्माण सामग्री लगायतका लागि रकम लगानी गर्ने र कामदारलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पारिश्रमिक उपलब्ध गराइनेछ ।” उक्त कामको टोल विकास संस्थाले प्रत्यक्ष निगरानी गर्नेछन् । कार्यक्रमका लागि गाउँपालिकाका १४५ रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका छन् । सो कार्यक्रमका लागि सरकारले चालू आर्थिक वर्षमा गाउँपालिकालाई रु १४ लाख ६० हजार सशर्त अनुदान दिएको छ । सोही कार्यक्रममार्फत गाउँपालिकामा विभिन्न आयोजना सञ्चालन गरिनेछ ।

सोही कार्यक्रमअन्तर्गत नै बन्दीपुर गाउँपालिका–६ मा पैदलमार्ग र सिँढी बाटो निर्माण गरिने र त्यसको स्टिमेट हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । “रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका बेरोजगारलाई नै आगामी दिनमा विभिन्न आयोजना निर्माणमा खटाउँछौँ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत नै गाउँपालिकामा साइकल लेन निर्माण भइरहेको छ । बन्दीपुर गाउँपालिका–४ र ५ मा अवस्थित रानीवन क्षेत्रमा साइकल लेन निर्माणका लागि २७ जनाले रोजगारी पाएका छन् । साइकल लेन निर्माणका लागि १७ पुरुष र १० महिला खटाइएको छ । गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङका अनुसार साइकल लेन निर्माणका लागि बन्दीपुर गाउँपालिका–२, ३ र ४ का कामदार खटाइएको छ । रामकोटबाट मुकुन्देश्वरीतर्फ साइकल लेन निर्माणका लागि १२ र वडा नं ४ तर्फबाट साइकल लेन निर्माणका लागि १५ जना खटिएका छन् । प्रधानमन्त्री रोजगारमार्फत खटिएकालाई जिल्ला दररेटअनुसार दैनिक रु ७०० का दरले पारिश्रमिक प्रदान गरिनेछ ।

भरिए क्वारेन्टिन
तनहुँ जिल्लाका स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा बस्नेको सङ्ख्या बढ्दै गएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि स्थानीय तहले बनाएको क्वारेन्टिनमा बस्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो । जिल्लाका १० स्थानीय तहमा आजसम्म क्वारेन्टिनमा बस्नेको सङ्ख्या २२० पुगेको छ । तीमध्ये २१५ पुरुष र पाँच महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भारतीय सीमानाकाबाट उद्धार गरेर जिल्ला ल्याइएका सर्वसाधारणलाई धमाधम क्वारेन्टिनमा राख्न थालिएको कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । कोभिड–१९ को जोखिमका कारण घर फर्किन लागेका सर्वसाधारण सीमानाकामा अलपत्र परेपछि स्थानीय तहको समन्वयमा अलपत्र परेकालाई उद्धार गरेर क्वारेन्टिनमा राख्न थालिएको छ । स्वास्थ्य कार्यालयका अनुसार भानु नगरपालिकाको क्वारेन्टिनमा १५, व्यास नपामा ४५, शुक्लागण्डकी नपामा २८, भीमाद नपामा ४६, म्याग्दे गाउँपालिकामा २३, घिरिङ गाउँपालिकामा १५, ऋषिङ गाउँपालिकामा २५, देवघाट गाउँपालिकाकामा १२, बन्दीपुर गाउँपालिकाको क्वारेन्टिनमा आठ र आँबुखैरेनी गाउँपालिकाको क्वारेन्टिनमा तीन जना छन् ।

जिल्लाका स्थानीय तहले शुरुमा १९२ श्ययाको क्वारेन्टिन निर्माण गरेका थिए । भारतबाट धेरै सङ्ख्यामा जिल्लावासी फर्किने जानकारी पाएपछि थप ५०० श्ययाको क्वारेन्टिन निर्माण गरिएको छ । व्यास नगरपालिकाले व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा व्यवस्थित क्वारेन्टिन बनाएको छ । उक्त क्वारेन्टिनमा व्यास नगरपालिका र ऋषिङ गाउँपालिकाका सर्वसाधारण राखिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । व्यासको क्वारेन्टिन भरिन लागेपछि ऋषिङका बासिन्दालाई लैजान गाउँपालिकाका अध्यक्षलाई भनिसकेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकाहरुको पिसीआर परीक्षणलाई पनि तीव्रता दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ । जसअनुसार व्यास नगरपालिकाको क्वारेन्टिनमा बसेका २५, ऋषिङ गाउँपालिकामा बसेका दुई र घिरिङ गाउँपालिकामा बसेका १६ जनाको पिसीआर परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

क्वारेन्टिनमा बस्नेलाई पानी सहयोग
नेपाल विद्यार्थी सङ्घका पूर्व सहमहामन्त्री लक्ष्मीभक्त खनाल र नेपाल तरुण दलका जिल्ला सचिव रामचन्द्र पौडेलले व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा निर्माण गरिएको क्वारेन्टिनलाई पिउने पानी सहयोग गरेका छन् । उहाँहरुले उक्त क्वारेन्टिनमा बस्नेहरुका लागि ६०० थान मिनरलवाटर र २०० थान मास्क आज हस्तान्तरण गर्नुभएको छ ।

हावाहुरीले छानो उडायो
सोमबार साँझ आएको भीषण हावाहुरीले यहाँको व्यास नगरपालिका–७ स्थित बसन्तकाली आधारभूत विद्यालयको छानो उडाएको छ । वर्षासँगै आएको हावाहुरीले विद्यालयको पाँचकोठे भवनको सबै छानो उडाएको हो । करिब आधा घण्टा आएको हावाहुरीले छानो उडाउँदा विद्यालय भवनमा क्षति पुगेको वडाध्यक्ष शतिश न्यौपानेले जानकारी दिनुभयो । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जारी गरिएको बन्दाबन्दीले विद्यालय बन्द रहे पनि छानो उडाउँदा भवनभित्र रहेका कागजात पानीले भिजेर नष्ट भएको छ । “विद्यालय बन्द रहेकाले केही दिनभित्रै विद्यालयको मर्मत गरिनेछ”, उहाँले भन्नुभयो ।

यस्तै सोही वडाका प्रताप परियारको घरको पनि छानो उडाएको छ । उहाँका अनुसार चट्याङले स्थानीय कुलबहादुर दुराको घरमा पनि क्षति पुगेको छ भने वडाका अन्य ठाउँमा भएका क्षतिको विवरण सङ्कलन हुने क्रममै रहेको छ । वर्षासँगै आएको हावाहुरीले वडाभित्रका खेतीबालीमा पनि क्षति पुगेको अनुमान गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !