१४ बैशाख २०८१, शुक्रबार

भारतबाट आयात बढ्दै


truck

भैरहवा, १६ वैशाख । बन्दाबन्दी शुरु भएपछि भैरहवा भन्सार कार्यालय हुँदै चार हजार ५६२ कन्टेनर सामान भारतबाट नेपाल भित्रिएका छन् । गत चैत ११ देखि यही वैशाख ११ सम्म ३१ दिनका अवधिमा उक्त भारतबाट दैनिक रुपमा खाद्यान्न तथा हरियो तरकारी नेपाल भित्रिनेक्रम पहिलेभन्दा बढेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

विशेषगरी एलपी ग्यास, डिजेल, पेट्रोल, खाद्यान्न, तेलहन तथा तेल, आलु, प्याज र तरकारी तथा फलफूल बोकेर आउने कन्टेनर बढी आएको भैरहवा भन्सार कार्यालयका प्रमुुख भन्सार अधिकृत कमलकुमार भट्टराईले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २०७५/०७६ को यही अवधि चैत ११ देखि वैशाख ११ सम्म त्यस्तो कन्टेनर तीन हजार ७५७ रहेकोे भन्सार कार्यालयका सूचना अधिकारी पूर्ण लम्सालले जानकारी दिनुभयो । बन्दाबन्दीपछि राहत वितरण तीव्र हुनु र मानिसमा सामान किनेर भण्डार गर्ने प्रवृत्तिका कारण मागअनुसार भारतीय कन्टेनर खाद्यान्न तथा हरियो तरकारी बोकेर नेपाल आएको सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद आचार्यले बताउनुभयो ।

लकडाउनपछि भारतिय तरकारी र खाद्यान्नको माग बढी हुनु तथा नेपालभित्र उत्पादित कृषि वस्तु बजारसम्म पुग्न कठिन भएकाले पनि बढी आयात भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

डिजिटल ट्रयाकिङ शुरु
परासी– नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाले विपद्बाट आफ्ना नागरिकलाई जोगाउन डिजिटल ट्रयाकिङ शुरु गरेको छ । नगरपालिकाले विपद् व्यवस्थापन प्रणालीको मोबाईल एप्स निर्माण गरी विपद्मा परेका नागरिकको डिजिटल माध्यमबाट सूचना सङ्कलन शुरु गरेको हो ।

हालका लागि कोभिड–१९ ट्रयाकिङ गर्ने उद्देश्यले सञ्चालन गरिए पनि सो एप्सले जुनसुकै विपद्का अवस्थाबारे पनि जानकारी दिने नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।

घरघरमा सामाजिक भत्ता
जिल्लाका सात स्थानीय तहले सामाजिक सुरक्षा भत्ता रकम बैङ्कमा दाखिला गरेका छन् । कोभिड–१९ को जोखिम नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण बैङ्कसम्म पुगेर भत्ता बुझ्न लाभग्राहीलाई समस्या भएपछि जिल्लाका केही स्थानीय तहले सामाजिक सुरक्षा भत्ता घरमै उपलब्ध गराउन थालेका छन् ।

पाल्हीनन्दन गाउँपालिकाले कोभिड–१९ को जोखिमलाई ध्यानमा राखी घरघरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराईरहेको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

सुस्ता गाउँपालिकाले पनि घरघरमै सामाजिक सुरक्षा भत्ता पु¥याउने तयारी गरेको छ । बैङ्कमा बोलाउँदा भीडभाड हुने र सङ्क्रमणको जोखिम हुने भएकाले जनप्रतिनिधिमार्फत टोलटोलमै गएर भत्ता वितरण गरिने गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

जिल्लाका अन्य स्थानीय तहले भने बैङ्कबाटै भत्ता लिने व्यवस्था मिलाएका छन् । रामग्राम, सुनवल र बर्दघाट नगरपालिकाले बन्दाबन्दी शुरु नहुँदै भत्ताको रकम बैङ्कमा पठाएकाले अधिकांशले भत्ता बुझिसकेका छन् । सरावल र प्रतापपुर गाउँपालिकाले रकम बैङ्कमा दाखिला गरेको जनाएका छन् ।

प्रेस ज्याकेट र स्वास्थ्य सामग्री
जिल्लामा कार्यरत पत्रकारका लागि प्रेस ज्याकेट र स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का अध्यक्ष गुणनिधि तिवारीले नेपाल पत्रकार महासङ्घमार्फत ७५ थान प्रेस ज्याकेट हस्तान्तरण गर्नुभएको थियो ।

सोही अवसरमा उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. ५ का तर्फबाट एक हजार थान मास्क र एक सय जोर पञ्जा पनि पत्रकारलाई उपलब्ध गराइएको थियो ।

१२ हजारलाई राहत
तम्घास – गुल्मीका १२ स्थानीय सरकारले पहिलो चरणमा १२ हजारभन्दा बढी विपन्न परिवारलाई राहत वितरण गरेका छन् ।

जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकाले पहिलो चरणमा १२ हजार २७० जना लाई राहत वितरण गरेको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

तरकारी पु¥याउँदै कृषि एम्बुलेन्स
बाँके– बन्दाबन्दीका कारण कृषि उपज बजारीकरण गर्ने उद्देश्यले बाँकेमा कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । प्रदेश नं ५ सरकारको कृषि, भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग र जिल्ला तथा प्रदेश सहकारी संघको समन्वयमा सो कृषि एम्बुलेन्स सञ्चालनमा आएको हो ।

सहकारी संघ प्रदेश ५ तथा बाँके जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले कृषि उपजलाई बजारसम्म पु¥याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

आठ महिनामा रु ३४ लाख राजस्व
झिमरुक– चालु आर्थिक वर्षको आठ महिनामा प्यूठान जिल्ला ट्राफिक कार्यालयले रु ३४ लाख राजस्व संकलन गरेको छ । गत साउनदेखि फागुन मसान्तसम्म पाँच हजार ८९४ सवारी साधन कारवाहीबाट रु ३३ लाख आठ हजार राजस्व संकलन भएको हो ।

गत वर्षभन्दा यस वर्ष सवारी साधन बढी भएका कारण राजस्व पनि औसत धेरै देखिएको जिल्ला ट्राफिक कार्यालय देवीस्थानका प्रमुख मधु थापाले बताउनुभयो ।

गत आर्थिक वर्ष ०७५/०७६ मा रु ६ हजार ४७५ सवारी साधन कारवाहीबाट रु ३५ लाख सात हजार राजस्व संकलन गरिएको ट्राफिक कार्यालय तथ्याङ्कमा उल्लेख छ । गत वर्ष चैतमा मात्रै रु दुई लाख ८० हजार सवारी साधन कारवाहीबाट राजस्व संकलन भएको थियो ।

यसैबीच जिल्लामा एक महिनामा २३४ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । लकडाउनका समयावधिमा बिनाअनुमति सञ्चालनमा आएका ट्रयाक्टर, मोटरसाइकल र स्कुटरमा सवार व्यक्तिका सवारी साधन नियन्त्रणमा लिइएको प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !