१२ जेष्ठ २०८१, शनिबार

‘भ्रष्टचारी’ चुनाव लड्न पाउनुपर्ने अडान कायमै , निर्वाचन ऐनमा अझै सहमति जुटेन


भ्रष्टाचारी ठहर भएकोलाई चुनाव लड्न दिने वा नदिने विषयमा सत्तारुढ कांग्रेस नेता तथा सांसदले निर्णय दिन नसक्दा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन विधेयक टुंगोमा पुग्न सकेको छैन ।

शुक्रबार संशोधन दर्ता गरेका अधिकांश सांसद उपस्थित थिएनन् भने उपस्थित कांग्रेस सांसद तथा नेताले पनि सार्वजनिक रुपमा कुनै प्रतिक्रिया नजनाए पनि आन्तरिक छलफलमा भने अडान कायमै राखेका थिए ।

छलफलमा कांग्रेस नेता तथा यसअघि राजनीतिक दल सम्बन्धी र स्थानीय निर्वाचन ऐनमा हस्ताक्षर गरेका गृहमन्त्री विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

उनीहरु दफावार छलफलपछि पनि सहमति जुटाउन बैठक बसेका थिए । तर, विपक्षी दल तथा सत्तारुढ माओवादी केन्द्रले पनि उक्त व्यवस्था संशोधन गर्न नहुने अडान राखेपछि ऐन टुंगो लाग्न नसकेको हो ।

निधि गृहमन्त्री हुँदा राजनीतिक दल सम्बन्धि ऐन र स्थानीय तह निर्वाचन ऐन टुंगो लागेको थियो । अहिले प्रतिनिधिसभा निर्वाचन तथा प्रदेशसभा निर्वाचन ऐनको दफा १३ मा उमेदवारको अयोग्यता सम्बन्धि उस्तै व्यवस्था गरिएको छ ।

सोही व्यवस्था परिवर्तन गर्नुपर्ने भन्दै कांग्रेसका १९ सांसदले संशोधन दर्ता गराएका थिए । शुक्रबार पनि सोही विषय टुंगो नलाग्दा समितिले उक्त ऐन टुंग्याउन नसकेको एमाले नेता तथा समिति सदस्य गंगालाल तुलाधारले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !