२४ बैशाख २०८१, सोमबार

बागलुङमा स्रोत अभाव झेल्दै समन्वयका योजना


बागलुङ

बलेवा, २१ फागुन । बागलुङको विकासका लागि जिल्ला समन्वय समितिले दुई वर्ष पहिला नै विभिन्न योजनाको छनोट गरेर प्राथमिकीकरण गरेको छ । स्थानीय तह, सङ्घ र प्रदेश सरकारले गर्नुपर्ने कामको विभाजनसमेत गरेर छनोेटमा परेका सबैजसो योजना शुरु नै हुन सकेका छैनन् ।

समन्वय समितिसँग आफैँले लगानी गर्ने बजेट छैन । सङ्घ, प्रदेश र स्थानीय तहको प्राथमिकतामा नपरेका कारण समन्वय समितिले छनोट गरेका योजनाको काम हुन नसकेको हो ।

पाँच वर्षभित्र सक्ने लक्ष्यका साथ प्राथमिकीकरण गरिएका ती योजना शुरु नभएपछि आवधिक योजना नै अन्योलका परेका छन् । अत्यावश्यक, धेरै खर्च लाग्ने र दुई प्रदेश जोड्ने सडकलाई सङ्घको जिम्मा लगाइएको थियो । ती योजना शुरु हुनै नसकेका हुन् ।

काम अगाडि बढ्न नसकेको राष्ट्रिय गौरवका आयोजनालाई छिटो शुरु गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको थियो । दुई वर्षअघि पनि मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे सडक अलपत्र थियो । अहिले पनि यो सडक स्तरोन्नति हुन सकेको छैन ।

सङ्घ सरकारले गौरवको योजनाका रूपमा सञ्चालन गरिरहेको मध्यपहाडीको काममा कम चासो दिएका कारण समयमा सम्पन्न हुने अवस्था नरहेको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गाना बताउनुहुन्छ ।

आवधिक योजनामा कालीगण्डकी ‘बी’को सर्भे र डिपिआर गर्नुपर्ने माग जिल्ला समन्वयको थियो । यो योजनाको नामसम्म उच्चारण भएको पाइँदैन । जिल्लाका आवश्यकतालाई १७ शीर्षकमा ८५ सूचक बनाएर प्राथमिकता निर्धारण गरिएको थियो । तीमध्ये सालझण्डी ढोरपाटन मोटरमार्ग, ढोरपाटन र अर्नाकोटको विमानस्थल सञ्चालन, बागलुङदेखि कुश्मीसेरा, बरेङ हुँदै गुल्मीको शान्तिपुर तम्घास सडकलाई प्राथमिकता दिने उल्लेख थियो ।

कुश्मीसेरादेखि बरेङसम्मको सडक स्तरोन्नतिका लागि प्रदेश सरकारको साझेदारी बजेट परेर केही काम थालिएको छ । तत्कालीन जिविसले थालेका बहुवर्षे योजना पनि अलपत्रै छन् । मोटरेबल पुलतर्फ केही निर्माणाधीन छन् भने केही बजेट अभावले रोकिएका छन् । सबै तहले प्राथमिकता निर्धारण गरेपछि पैयुथन्थाप राङ्खानी जोड्ने ठेउलेखोला रुम्टाघाट, अर्जेवादेखि पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीका पुल, सल्यानदेखि गुल्मी जोड्नेजस्ता दर्जन पुल अझै पूरा हुन सकेका छैनन् ।

जिल्लामा २० वर्ष अघिदेखि थालिएर अलपत्र परेका अधुरा खानेपानी योजना पूरा गर्ने लक्ष्य पनि अझै पूरा भएका छैनन् । स्थानीय तहमार्फत गरिएका काममा भने नयाँ पम्पिङ प्रविधिका योजना निर्माणाधीन छन् । नीति तथा कार्यक्रम र बजेटले सम्भव हुने स्थानमा सम्बोधन गर्ने क्रम शुरु भएको प्रतिनिधिसभा सदस्य सूर्य पाठकले बताउनुभयो । उहाँका अनुसार कुश्मीसेरा जाने सडक कालोपत्रे र बलेवा विमानस्थल कालोपत्रे गर्नेलगायतका काम थालिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !