२४ बैशाख २०८१, सोमबार

बालबालिका अधिकारसम्बन्धी विधेयक पारित


प्रदेश नं १

विराटनगर, १८ फागुन । ‘प्रदेश नं १ को बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि विचार गरियोस् भनि प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सामजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सो प्रस्ताव सदनमा पेश गर्नुभएको थियो ।

विधेकयको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाले विधेयकले बालगृह तथा बालआश्रमको विषयमा पनि बोल्नुपर्ने भन्दै विद्यालय तहमा पोषण कार्यक्रम सञ्चालन गर्न विधेयकमा व्यवस्था हुनुपर्ने माग गर्नुभयो । सदस्य जयराम यादवले विधेयक अत्यन्त राम्रो रहेको र यसबाट बालबालिका लाभान्वित हुने चर्चा गर्नुभयो । अर्का सदस्य शान्ता पौडेलले तीन वर्ष मुनिका बालबालिकालाई पौष्टिक आहारको व्यवस्था विधेकयमा भएमा लक्षित वर्ग लाभान्वित हुने चर्चा गर्नुभयो ।

यसअघि बैठकको शून्य समयमा सांसदहरुले नोबेल कोरोना भाइरसबाट आम नागरिकलाई सुरक्षित राख्न प्रदेश सरकारले पूर्वतयारी गर्न तथा विभिन्न सडकहरुको स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक यही फागुन २२ गते दिउँसो १ बजे बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !