२० बैशाख २०८१, बिहिबार

स्थानीय सरकारको प्रभावकारिता : दैनिक सेवा लिनेको भीड


gauipalika

जाजरकोट, २० माघ । सदरमुकाम गएर सेवा लिँदै आएका जिल्लाका पश्चिमी क्षेत्रका स्थानीय बासिन्दा अहिले गाउँघरमै सेवा पाउँदा दङ्ग छन् । सदरमुकामसँग प्रत्यक्ष पहुँच नभएका पश्चिमी क्षेत्रका स्थानीयवासी स्थानीय सरकारको सेवा गाउँमै पाएपछि निकै खुशी भएका हुन् । छेडागाड नगरपालिकाले प्रवाह गर्ने सेवामध्ये सबैभन्दा बढी पशुपन्छी शाखा र स्वास्थ्य शाखाबाट सेवा लिनेको भीड लाग्ने गरेको पशुपन्छी शाखाका प्रमुख अमृत गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दैनिक ४० भन्दा बढी स्थानीयवासी सेवा लिन आउने गरेका छन् । स्थानीय सरकार स्थापना नहुँदै केन्द्रीकृत संरचना हुँदा सेवा नपाएर हैरान भएका स्थानीयवासीमा स्थानीय सरकार आएसँगै खुशी छाएको हो । अहिले गाउँमा पशुचौपाया बिरामी हुने बित्तिकै नगरपालिकामा आएर औषधि तथा सल्लाह लिनेक्रम बढेको गिरीले जानकारी दिनुभयो ।

त्यस्तै स्वास्थ्य संस्थामा उपचार लिन आउनेको भीड लाग्ने गरेको छ । गाउँमै सबै प्रकारका औषधि पाइने भएपछि स्थानीयवासीको विश्वास बढेको छ । औषधि कमी हुन नदिन स्थानीय सरकारले साप्ताहिक रुपमा जानकारी लिने गरेको छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले जानकारी दिनुभयो । औषधि नपाएर अकाल्मै मृत्यु हुनबाट रोक्नका लागि स्थानीय सरकार गम्भीर भएको महतराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी दैनिक जनताको माझमा छौँ, अभावकै कारण कोही पनि छट्पटाउनुपर्ने अवस्थाको अन्त्य गर्नका लागि स्थानीय सरकारको गठन भएको छ । हाम्रा सेवा अपुग भए सिधै नगरमा आएर जानकारी गराउन पनि अनुरोध गर्दछु ।”

ज्येष्ठ नागरिकलाई घरमै गएर उपचार गर्ने कार्य शुरु गरिएको छ । कुपोषण, शारीरिक रुपमा अशक्त भएका, बहुविवाह र बालविवाह अन्त्यका लागि नगरपालिकाले पहिलो अभियान सञ्चालन गरेको पाइएको छ । बालविवाह अन्त्यका लागि किशोरी सम्मेलन गरी जागरणको कार्यक्रम सञ्चालन गर्नुका साथै नगरपालिकाले अहिले विद्यालयमा समेत बालविवाह अन्त्यका लागि विशेष अभियान सञ्चालन गरेको छ ।

कुपोषण न्यूनीकरणका लागि गर्भवतीको नियमित स्वास्थ्य जाँच, करेसाबारी कार्यक्रम, घरेलु उत्पादन वृद्धी र सही प्रयोग गर्नका लागि प्रत्साहन गरिएको छ ।

त्यस्तै सबै नागरिकलाई उद्यमशील बनाउनका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आर्थिक सहयोग र भेरी कर्णाली पोलिटेक्निक इन्स्टिच्यूट प्रालि बाँकेले विशेष कार्यक्रम लागू गरी छेडागाड नगरपालिकामा व्यवसायिक सीपको विकास गर्न सक्रिय भएको छ । आफ्नो मालिक आफैँ भन्ने नाराका साथ यो कार्यक्रम सुचारु भएको हो ।

आफ्नै कार्यालयबाट सेवा प्रवाह

यहाँको शिक्षा, पशुपन्छी, स्वास्थ्य शाखाहरु आफ्नै भवनमा सञ्चालन भई सेवा प्रवाह भएको पाइएको छ । आउँदो आर्थिक वर्षदेखि सबै वडा कार्यालय निर्माण कार्य शुरु गरिने नगरप्रमुख लालबहादुर महतराले जानकारी दिनुभयो ।

सबै वडा कार्यालय निर्माण कार्यसँगै सेवा प्रवाह सहज हुने विश्वास लिइएको छ । खानेपानी, भौतिक पूर्वधार, सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले सेवा प्रवाह चुस्त राखेको छ ।

कच्ची सडक निर्माण कार्य तीव्र रुपमा अगाडि बढाएको नगरले आफ्नो स्रोत साधनले पुगेसम्म काम छिटो भइरहेको प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !