२३ बैशाख २०८१, आइतबार

मिथिलामा ‘तिलासक्रायत’ पर्वको चहलपहल


महोत्तरी, १७ पुस । मध्यपूर्वी तराई क्षेत्रमा ‘तिलासक्रायत’ पर्वको चहलपहल शुरु भएको छ । माघे सङ्क्रान्तिका दिन मनाइने यो पर्व महोत्तरीसहितका मध्यपूर्वी तराईका जिल्लामा केही दिन पहिले नै तयारी थालिएपछि जताततै ‘तिलासक्रायत’ को चहलपहल बढेको हो ।

खासगरी मिथिला क्षेत्रमा नेपालीमा माघेसङ्क्रान्ति भनिने यो पर्वमा तिल, मुरी र चिउरालाई (सख्खर मिलाएर बनाइएका लड्डु) खाने÷खुवाउने मैथिल चलन छ । आदिवासी थारु, दनुवार, बाँतर र मुसहरको त यो खास पर्व नै भएको हुँदा यी जाति समुदाय केही साता पहिले नै ‘तिलासक्रायत’ का लागि सामानको जोहो गर्न लाग्छन् ।

“परव (पर्व) आई त हाल्यो हजुर, बस् अब १०÷११ दिन त हो”, महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरको थरौटी बस्तीका करिब ७० वर्षीय सर्जुग खाँ थारुले पर्वका लागि ल्याइएको खसी देखाउँदै भन्नुभयो, “छोरीचेली÷ज्वाँइचेला, भाञ्जाभाञ्जी र नातिनातिना सबै बोलाइन्छन्, सामानको जोहो त गर्नै प¥यो नि !” मिथिलाका अन्य जाति समुदायमा यस पर्वका लागि साकाहारी परिकारकै चलन रहे पनि थारु, दनुवार, मुसहर र बाँतर समुदायमा भने आ–आफ्नो परम्पराअनुसार खसी, कुखुरा, हाँस र सुँगुरको मासु खाने÷खुवाउने परम्परा छ ।

आउनै लागेको तिलासक्रायत (यता थारुले पनि तिलासक्रायत नै भन्छन्) पर्वको तयारी अन्य बस्तीमा भन्दा थरौटी (थारु बस्ती) मा विशेष देखिँदो छ । थारुले पर्वका लागि खसी, कुखुरा र हाँसको जोहो गरिसकेका छन् । मासुको जोहोबाहेक तिल, चिउरा र मुरी एवं नानीहरुलाई नयाँ लुगाको प्रबन्ध गर्नुपर्ने परम्पराले यो पर्व आफ्नो समुदायका लागि खास र अलि खर्चिलो हुने गरेको रायको भनाइ छ ।

“बरस (बर्ष) दिनको परब (पर्व) हो हजुर, यसपाली हाम्रो बस्तीका ३० घरलाइ दुई वटा सुँगुर ठिक पारिएका छन्”, जिल्लाको बलवा नगरपालिकाको भगवतीपुर मुसहरीका अगुवा उत्तिम सादा मुसहरले भन्नुभयो, “हुनेखानेलाइ त के भयो र हजुर, हामी गरिबले भने पहिले नै परबको जोहो गर्नुपर्छ ।”

पर्व नजिकिँदै गर्दा मिथिलाका बस्तीमा तिल कुट्ने, केलाउने र छाँट्ने व्यस्तता बढेको छ । त्यसैगरी मुरी (एक प्रकारको चामल भुटेर बनाइने भुजा)बनाउने र चिउरा कुट्ने चटारो देखिन्छ । पर्वका लागि बजारमा तिल, चिउरा र मुरी अहिलेदेखि नै भरिभराउ देखिएका छन् । मिथिलामा तिलासक्रायत (माघेसङ्क्रान्ति)पर्वमा बनाइने तिल, चिउरा र मुरीका लाई जाडो यामभरि खाजा खाने चलनले गर्दा आफ्नो गच्छेअनुसार सबैले बढी बनाउने गरेका छन् । यसबाहेक पर्वको समान छोरीचेली र मितकहाँ सनेस (कोसेली) पठाउने अनिवार्य जस्तै परम्पराले यो पर्वको तयारी मिथिलाका लागि खास बन्ने गरेको हो ।

अहिले पछिल्लो चार दिनयता पुसमध्येसम्म (गत सोमबार, पुस १४)को बाक्लो हुस्सु र चिसो बतास हराउँदै गएर पारिलो घाम लाग्न थालेपछि पर्वको तयारी सहज भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !