२६ बैशाख २०८१, बुधबार

प्राकृतिक चिकित्सालयले प्रयोगशाला सञ्चालन गर्ने


कोरोना नयाँ भेरियन्ट बी १.६१७

नवलपुर । गत वर्षदेखि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको पहिलो चरणमा उत्कृष्ट सेवा प्रदान गरी शतप्रतिशत बिरामी निको बनाउन सफल रजरको सामुदायिक प्राकृतिक चिकित्सालयले प्रयोगशाला सञ्चालन गर्ने भएको छ । नवलपुर समाज जापानले शनिबार रु ११ लाख बराबरको उपकरण सहयोग गरेपछि एक महिनाभित्र प्रयोगशाला सञ्चालन गरिने चिकित्सालयका निर्देशक डा विनोद पौडेलले बताउनुभयो ।

चिकित्सालयमा उपचारका लागि आउँदा बिरामीमा के समस्या छ भन्ने पत्ता लगाउन सामान्य परीक्षण गर्नसमेत चिकित्सालय बाहिरका प्रयोगशालामा पठाउनुपर्ने बाध्यता रहेकामा अब त्यो अन्त्य हुने पौडेलले बताउनुभयो । चिकित्सालयमा नै प्रयोगशाला सञ्चालनपछि बिरामीको अनावश्यक खर्च जोगिनुका साथै उपचारमा सहज हुने पौडेलले बताउनुभयो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकास्थित रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक पद्धतीबाट बिरामीको उपचार गर्दै आइरहेको छ ।

उपकरण हस्तान्तरण गर्दै नवलपुर समाज जापानका संस्थापक अध्यक्ष केशव पौडेलले महामारीमा तत्काल उपचार गर्न सक्ने र भविष्यमा प्राकृतिक उपचार पद्धतीको कलेजसमेत सञ्चालन गर्ने अवधारण लिएकाले प्रयोगशालाका उपकरण सहयोग गरिएको बताउनुभयो । आफूहरू विदेशमा भए पनि आफ्नो जन्मभूमिमा हुने विभिन्न विपद् र पीडामा सहयोगी बन्ने काम गरिरहेको उहाँको भनाइ छ । समाजमा आवद्ध हुने आजीवन सदस्यबाट प्राप्त रकमले उपकरण सहयोग गरेको भन्दै बिरामीले चिकित्सालयबाट सहज उपचार पाउनेमा आफूहरू विश्वास्त रहेको पौडेलले बताउनुभयो ।

उपकरण हस्तान्तरण कार्यक्रममा चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीले अत्यन्त आवश्यक उपकरण सहयोग पाएको भन्दै यसले जनताको स्वास्थ्य उपचारमा ठूलो सहयोग मिल्ने बताउनुभयो । प्रयोगशाला सञ्चालनका लागि आवश्यक सबै कार्य पूरा गर्ने बताउँदै समाजसँगको सम्बन्ध निरन्तर रहने बताउनुभयो । समाजको सहयोगले चिकित्सालयको सेवा विस्तारमा ठूलो सहयोग मिलेको बताउँदै व्यवस्थापक हरि सापकोटाले सहयोग अभियानमा जोडिने सबै नवलपुर समाज जापानप्रति धन्यवाद दिनुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !