१३ बैशाख २०८१, बिहिबार

अयोग्य खाद्यका नमूना परीक्षण गरिँदै, प्रतिकूल आए कारवाही हुने


अयोग्य खाद्य

बैतडी, १६ कात्तिक । बजार अनुगमनका क्रममा बैतडीमा सङ्कलन गरिएका खाद्यका २७ नमूना परीक्षणका लागि धनगढी पठाइएको छ । खान अयोग्य देखिएका नमूनाहरूलाई परीक्षणका लागि धनगढी पठाइएको र नमूना प्रतिकूल आए खाद्य ऐनबमोजिम कारवाही हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिनुभयो ।

“असोजको पहिलो सातादेखि बैतडीमा गरिएको बजार अनुगमनका क्रममा २७ ओटा नमूना सङ्कलन गरिएका छन्, ती खाद्य वस्तुका नमूनाको प्रयोगशालामा गुणस्तर परीक्षण गरिने र गुणस्तरीय नपाइए कारवाही हुन्छ”, उहाँले भन्नुभयो ।

यसअघि चार ओटा नमूना गुणस्तरीय नपाइएकाले कारवाहीको प्रक्रियामा रहेको लेखकले जानकारी दिनुभयो । असोजभन्दा पहिले सङ्कलन गरिएका १५ नमूनामध्ये चार ओटा तोकिएको मापदण्डानुसार नपाइएको उहाँले बताउनुभयो । उहाँँले भन्नुुभयो, “दुई व्यवसायीमाथि जिल्ला प्रशासन कार्यालय बैतडीमा मुद्दा दायर गरिएको छ र अन्य दुई अनुसन्धानको क्रममा छन् ।”

८ लाखको अखाद्य वस्तु नष्ट

बैतडीमा गत असोज पहिलो साताबाट गरिएको बजार अनुगमनका क्रममा रु सात लाख ७० हजारको म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको थियो । संयुक्त बजार अनुगमन समितिले गत महिना विभिन्न बजारमा अनुगमन गर्दा उक्त मूल्य बराबरको म्याद गुज्रेको सामग्री बरामद गरेर नष्ट गरेको हो । असोज पहिलो सातादेखि असोज अन्तिम सातासम्म जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको थियो ।

उपभोग्य सामग्रीको उत्पादन मिति र उपभोग्य मिति नहेर्ने गरेका कारण बजारमा म्याद नाघेका सामग्रीसमेत बिक्री वितरण भइरहेको लेखकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म्याद नाघेका सामग्रीका बारेमा न व्यापारीहरुले हेर्ने गरेका छन् न उपभोक्ताले नै । बजारमा म्याद नाघेका सामग्री बिक्री वितरण भइरहेका छन् ।”

बजार अनुगमनका क्रममा दर्ता नभएका पसलहरुलाई सम्बन्धित निकायमा दर्ता हुन आग्रह गरिएको छ भने प्रत्येक पसलमा मूल्यसूची राख्नसमेत आग्रह गरिएको छ । चाडपर्वलाई लक्षित गरेर अनुगमन गरिएको भए पनि अनुगमनलाई निरन्तरता दिनुपर्ने उपभोक्ताहरुले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !