१४ बैशाख २०८१, शुक्रबार

लेकसाइडका होटलहरुमा वैदाम प्रहरीको असुली


असोज २४, पोखरा | पोखरा ६ तालबाराही चोकमा होटल स्नोल्याण्ड छ। होटलकै आडमा डाउन टाउन रेष्टुरेन्ट एण्ड बार छ। सोही बारमा सोमबार राती साढे १२ बजे वडा प्रहरी कार्यालय बैदामका असइ एक जना सहयोगी लिएर त्यहाँ पुग्छन् । रेष्टुरेन्ट संचालक गणेशबहादुर थापालाई रेष्टुरेन्ट बन्द गर्न चेतावनी दिन्छन् । संचालक थापाले आफूसँग रेष्टुरेन्ट २४ सै घन्टा संचालनको अनुमति सिडिओ कार्यालयबाट आएको पत्र देखाउँछन् ।

असइले जसरी भएपनि रेष्टुरेन्ट बन्द गर्न निर्देशन गर्छन् । संचालक थापा हातमा सिडिओ कार्यालयको पत्र देखाउँदै बन्द नगर्ने अडान लिन्छन् । राती रेष्टुरेन्टमा रहेका ग्राहक प्रहरी र संचालकको विवाद सुन्दै अचम्म मान्छन् । त्यसैवीचमा असइले वैदामका प्रहरी निरीक्षक बसन्त शर्मालाई फोन गरेर घटनाक्रम बताउँछन् । प्रहरी निरीक्षक शर्मासँग कुरा गरेपछि असइले सोही फोन संचालक थापालाई दिन्छन् ।

संचालक थापाले रेष्टुरेन्ट संचालनको अनुमति आफूसँग भएको र सिडिओ कार्यालयबाट नै पत्र पाएको बताउँछन् । थापाको रेष्टुरेन्टलाई शुक्रबार एक दिन १ बजेसम्म र अरु दिन १२ बजेसम्म मदिरा बेच्ने अनुमति छ । साथै पर्यटकलाई ध्यान गरेर सिडिओ कार्यालयले उनको रेष्टुरेन्टलाई चिया, कफी, कुकिज बेच्न २४ सै घन्टा अनुमति दिएको छ। त्यो अनुमतिको धज्जी उडाउँदै बैदामका प्रहरी निरीक्षक बसन्त शर्माले रेष्टुरेन्ट जसरी भएपनि बन्द गर भन्दै नत्र रेष्टुरेन्टमा रहेका रक्सी सिल गरिदिने चेतावनी दिँदै फोन काटे ।

त्यसपछि असइले इन्सपेक्टरले जसरी भएपनि कार्यालय ल्याउनु भनेका छन् भनेर राती नै संचालक थापालाई वैदाम प्रहरीमा लिएर जान्छन् । तर प्रहरी इन्सपेक्टर शर्मा नउठेपछि थापालाई असईले ३० मिनेट नियन्त्रणमा लिएर छाडिदिएका छन्। सरकारले पोखरालाई २४ सै घन्टा खुला गर्ने तरखर गरिरहेका बेला वैदाम प्रहरी त्यसको ठिक उल्टो गतिमा हिडिरहेको छ।वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक बसन्त शर्मा त्यहाँ जाने वितिकै होटल व्यवसायीहरूलाई आतंकित पार्ने काम गरिरहेको व्यवसायीहरूले बताएका छन् ।

उनीहरूले होटलहरूबाट महिना उठाउने गरेको पीडित व्यवसायीहरूले बताएका छन् । व्यवसायीहरूले प्रहरीलाई मोटो रकम दिए चुप लाग्ने नदिए व्यवसाय नै चाैपट हुने गरी उनीहरूले ताराे बनाउने गरेकाे बताए। प्रहरीले केहीदिनअघि डुंगा रेष्टुरेन्टका संचालक राजेश गुरुङ र बिजी रेष्टुरेन्टका सुनिल भट्टराईसमेत पक्राउ गरेको थियो ।

प्रहरी निरीक्षक शर्मा आफू गृहमन्त्री जर्नादन शर्माको भतिजो भएको बताउँछन् । शर्माले गृहमन्त्री सम्हालेको एक सातामै उनलाई कमाई हुने स्थान बैदाम पठाएका थिए। गृहमन्त्री शर्माले उनलाई बैदाम पठाएको केहीदिनपछि मात्र उनको सरुवाबारे प्रहरी प्रधान कार्यालय हेडक्वाटरमा जानकारी पुगेको थियो । यस अघि प्रहरी निरीक्षक शर्मालाई एसपी अशोक सिंहले स्पष्टीकरण लिईसकेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !