११ जेष्ठ २०८१, शुक्रबार

अर्जुनीमा सर्पदंशका बिरामी बढ्दै


भीमदत्तनगर, १५ साउन । नेपाली सेनाले कञ्चनपुरको अर्जुनीमा सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढ्दै गइरहेको छ ।

झण्डै छ वर्षअघि नेपाली सेनाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थी खटिएको अर्जुनी गुल्म परिसरमा सर्पदंश उपचार केन्द्र स्थापना गरेको थियो । सर्पदंश उपचार केन्द्रका प्राविधिक सुवेदार दीपेन्द्रबहादुर कार्कीले दैनिक चार÷पाँच जना सर्पले टोेकेका बिरामीहरु उपचारका लागि आउने गरेको बताउनुभयो ।

उहाँले उपचार केन्द्र स्थापना भएयता हालसम्म ७२८ जना बिरामीको उपचार गरिएको बताउनुभयो । “गत आर्थिक वर्षको वैशाखदेखि हालसम्म मात्रै यहाँ १५० बिरामीले समयमै उपचार पाएर ज्यान बचाएँ”, उहाँले भन्नुभयो, “सर्पदंश उपचार केन्द्र हुँदा स्थानीयवासीलाई धेरै सहज भएको छ ।”

सामुदायिक समितिबाट सञ्चालन गरिए पनि जनशक्ति र अन्य धेरै सुविधाहरु सेनाबाट उपलब्ध छ । “समितिलाई माग गरेअनुसार हामीलाई औषधि उपलब्ध गराउँछ”, कार्कीले भन्नुभयो, “अहिले बिरामीका लागि आवश्यक सबै औषधि र जनशक्ति मौज्दात छ ।”

चार श्यया रहेको उपचार केन्द्रको स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासीको भनाइ छ । बर्सातका बेला तराईमा सर्पदंशको भय बढी हुन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !