२१ बैशाख २०८१, शुक्रबार

काम गर्ने संस्कारको विकास नभएसम्म देशको आर्थिक विकास हुन नसक्नेमा जोड


ganeshmansing

२ असोज, काठमाडौँ ।  नेपाली जनतामा कडा मिहिनेत गरी काम गर्ने संस्कारको विकास नभएसम्म देशको आर्थिक विकास हुन नसक्नेमा वक्ताहरुले जोड दिएको छ ।

गणेशमान सिंहको २१ औँ स्मृति दिवसको अवसरमा आज यहाँ आयोजित ‘सम्मुन्नत राष्ट्र ः सम्पन्न नागरिक’ विषयक विचार गोष्ठीमा उनीहरुले भन्नुभयो, “पूर्वी एशियाली मुलुकमा सबैको प्राथमिकता आर्थिक विकास हो तर दक्षिण एशियाली मुलुकमा सबैको प्राथमिकता राजनीति भएकाले यस क्षेत्रमा आर्थिक विकासमा पछाडि परेको हो ।”

सो अवसरमा नेपाली काङ्ग्रेसका नेता एंव पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपालमा राजनीतिक परिवर्तन ल्याउन लौह पुरुष गणेशमान सिंहले इतिहासमै कठोर मिहिनेत र परिश्रम गरेको उल्लेख गर्दै राजनीतिक परिवर्तन पछि आर्थिक विकास गर्नुपर्छ भन्ने नेता सिंहको परिकल्पनालाई साकार पार्न हामी सवै एकजुट भई आर्थिक क्रान्तिमा ध्यान दिनुपर्छ भन्नुभयो ।

विपी, गणेशमान तथा सुवर्ण शम्शेरको त्याग र तपस्याबाट नै नेपालमा प्रजातन्त्र आएको बताउँदै उहाँले सरल जीवन र उच्च विचारले मात्र देशमा आर्थिक समृद्धि हुने धारणा व्यक्त गर्नुभयो ।

नेपाली काङ्ग्रेसका नेता एंव पूर्व अर्थमन्त्री डा रामशरण महतले नेपाली काङ्ग्रेसको नेतृत्वको सरकारले देशमा आर्थिक विकासको पूर्वाधार तयार पारेको बताउँदै २५ वटा जिल्लामा मात्र सडक पुगेको नेपालमा अहिले गाउँगाउँसम्म सडक पु¥याएको छ भन्नुभयो ।

राजनीतिज्ञ निलाम्बर आचार्यले देशमा आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्यौँ भने मात्र राजनीतिक स्थायित्व हुने बताउनुभयो ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशी, सदस्य डा स्वर्णिम वाग्ले, नेपाली काङ्ग्रेस काठमाडौँका सभापति सरोज बानियाँ, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेललगायतले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि स्व. सिंहले पु¥याउनुभएको उल्लेखनीय योगदान तथा समृद्ध नेपाल बनाउने उहाँको सपनाका विविध पक्षमाथि प्रकाश पार्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !