२४ बैशाख २०८१, सोमबार

कृषि विविबाट आठ निजी क्याम्पसलाई सम्बन्धन


Nepalpatra

२९ असार, चितवन ।  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले पहिलो पटक आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको छ ।

चार वर्षअघि दर्खास्त आह्वान गरिएकामा २४ निजी क्याम्पसले आवेदन दर्ता गराएका थिए । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले आवेदन दिएकामध्ये सबै मापदण्ड पूरा गरेका सात क्याम्पसलाई कृषि स्नातक (बिएस सिएजी) र एउटालाई वन स्नातक (बिएससी फरेस्टी) पढाउनका लागि अनुमति दिइएको बताउनुभयो ।

उहाँका अनुसार कृषि स्नातकमा सम्बन्धन पाउनेमा पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछाया कलेज गैँडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज भूमही, गोर्खा युनाइटेड पब्लिक स्कूल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत छन् । त्यसैगरी वन स्नातकमा सिद्धान्त क्याम्पस गैँडाकोटले सम्बन्धन पाएको छ ।

ढकालका अनुसार सबै कलेजले ५०–५० विद्यार्थी भर्ना गर्न पाउनेछन् । विश्वविद्यालयले हालसम्म चार आंगिक क्याम्पस सञ्चालनमा ल्याएको छ । आउँदो शैक्षिकसत्रसम्म थप चार आंगिक क्याम्पस सञ्चालनका लागि गृहकार्य भइरहेको ढकालले बताउनुभयो । विश्वविद्यालयले सिनेटमा निर्णय गरी १० आंगिक क्याम्पस खोल्न गत वर्ष विश्वविद्यालय अनुदान आयोगमा प्रस्ताव पेश गरेकामा आयोगले सात आंगिक क्याम्पस स्थापनाका लागि अनुमति दिएको थियो ।

त्यसअघि नै विश्वविद्यालयको एउटा आंगिक क्याम्पस सञ्चालनमा आइसकेको थियो । उपकुलपति ढकालले निजी सम्बन्धन पाएजति नै आंगिक क्याम्पस आउँदो शैक्षिक सत्रदेखि सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनले भने निजी क्याम्पसलाई सम्बन्धन दिन नहुने जनाउँदै विरोध जनाएका छन् । उनीहरुले विश्वद्यिालयमा गरेको तालाबन्दी बिहीबार साँझ प्रहरीले फोरेको थियो । सरकारले प्राविधिक शिक्षा पढाउनका लागि विसं २०६७ मा सो विश्वविद्यालय स्थापना गरेको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !