२४ बैशाख २०८१, सोमबार

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी


Rabindra Adhikari

१० जेठ, राजविराज ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज विमानस्थलबाट असारको पहिलो साताभित्र नियमित उडान शुरु हुने बताउनुभएको छ ।

राजविाज विमानस्थलको आज उद्घाटन गर्दै मन्त्री अधिकारीले रनवेसहितको निर्माण भएको राजविराज विमानस्थलमा असारको पहिलो सातासम्म नियमित उडान हुने बताउनुभयो ।

“यात्रु होस् नहोस्, सधैँ समयमा उडान भर्नुहोस्,” मन्त्री अधिकारीले श्री एयरलाइन्सका प्रमुख सुधिर मित्तललाई निर्र्देशन दिनुभयो । उहाँले धेरैमा चार÷पाँच महिना यस्तो समस्या आउने र त्यसपछि पर्याप्त यात्रु उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो । नियमित समयमा उडान भरेमा श्री एयरलाइन्सको रेकर्ड राम्रो बन्ने र समयमा उडान नभरे रेकर्ड खराब बन्ने उहाँको भनाइ थियो ।

“नेपाली एयरलाइन्समा यात्रु नभए उडान नै रद्द गर्ने बानी छ, अब राजविराज विमानस्थलमा यस्तो चल्दैन,” मन्त्री अधिकारीले भन्नुभयो ।

नेपाल वायु सेवा निगमले निकट भविष्यमै ६ वटा सानो जहाज किन्न लागेको र यात्रु भएमा एउटा जहाजले राजविराजबाट पनि नियमित उडान भर्ने उहाँले बताउनुभयो । मन्त्री अधिकारीले ६ महिनाभित्र यस विमानस्थलमा तेल राख्ने गाडी पनि राखिने जानकारी दिँदै कार्गाे विमानस्थलका रुपमासमेत विमानस्थलको विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुरुमा कम यात्रु भए पनि नियमित उडान भर्न श्री एयरलाइन्ससँग आग्रह गर्नुभयो । राजविराजलाई भारतीय शहरसँग जोड्नका लागि सडक निर्माण गरिए तथा नियमित जहाज उडान भइरहे सप्तरीको कायापलट हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाका सांसद एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले उडान नियमित हुने विश्वास व्यक्त गर्दै जिल्लाको विकासका लागि जुनसुकै पार्टीका भए पनि सम्पूर्ण जनप्रतिनिधिलाई हातमा हात मिलाएर अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद मनिष सुमन र सत्यनारायण मण्डलले नियमित उडान हुनुपर्नेमा जोड दिनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले ७२ सिटे जहाज चल्ने क्षमता भएको राजविराज विमानस्थलको निर्माण समयमै सम्पन्न भएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले सरकारको रु ३० करोड ३० लाखको लागतमा विमानस्थल निर्माण भएको जानकारी दिनुभयो ।

विसं २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलबाट झण्डै डेढ दशकपछि बुधबार ५० सिटे श्री एयरलाइन्सको जहाजले सफल परीक्षण उडान भरेको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !