१४ बैशाख २०८१, शुक्रबार

एमडिएमएस लागू नगर्न प्रधानमन्त्रीको निर्देशनपछि भन्सार नभएका मोबाइल बन्द नहुने


mobile

काठमाडौँ । सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को पूर्ण कार्यान्वयन तत्कालका लागि स्थगित गरेको छ । विदेशबाट फर्किने नेपालीले ल्याउने मोबाइलको व्यवस्थाबारे अन्योल भएपछि तत्कालका लागि उक्त सिस्टमको कार्यान्वयन स्थगित गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान एमडिएमस प्रक्रिया तत्काल कार्यान्वयन नगर्न अर्थमन्त्री बिष्णु पौडेललाई निर्देशन दिएका थिए । विदेशबाट फर्किएका नेपालले ल्याउने मोबालाइललाई कडाइ गर्ने निर्णय तत्काल लागू नगर्न र पुरानै प्रक्रियामा चल्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले अर्थमन्त्रीलाई निर्देशन दिएपछि नेपाल दूरसञ्चार प्राधिकरण एमडीएमएसको कार्यान्वयन गर्ने योजनाबाट पछि हटेको हो । यसअघि प्राधिकरणले हिजोभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको थियो ।

प्राधिकरणले गत पुस ९ गते शनिबार एक सार्वजनिक सूचना प्रकाशित गरी यही हिजो पुस १५ देखि एमडिएमएस पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको थियो । चौतर्फी विरोध भएपछि सरकारले विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था पनि तत्कालका लागि स्थगित गरेको हो ।

विदेशमा रहेका नेपालीले उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न आवाज उठेको थियो । नेपालको भन्सार कार्यालयमा दर्ता नभएका मोबाइल चलाउन नपाउने गरी एमडीएमएस प्रणाली लागू हुन लागेपछि तत्काल खारेज गर्न उनीहरुले सरकारसँग माग गर्दै आएका छन् ।

मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणका रूपमा एमडिएमएस लागू गरिएको जनाएको थियो ।

यो पनि पढ्नुहोस्

भन्सार घोषणा नभएका मोबाइल बन्द हुने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !