२४ बैशाख २०८१, सोमबार

लोकतन्त्रको बलियो आधार खुल्ला सरकार सहकार्य


Teplitz Alaina-B.-

२ जेठ, बाँके । नेपालका लागि अमेरिकी राजदूत अलाइना वि टेप्लिजले सुक्ष्म लोकतन्त्रको बलियो आधार खुल्ला सरकार सहकार्य भएको बताउनुभएको छ ।

अमेरिकी राजदूतावासको आयोजनामा आज नेपालगन्जमा भएको गोलमेच छलफलमा उहाँले भन्नुभयो, “पारस्परिक जवाफदेहीता स्थापना गर्न तथा सरकार र नागरिक सामाजबीच विश्वासको वातावरण निमार्ण गर्न खुल्ला सरकार सहकार्य (ओजिपी) प्रमुख औजार तथा प्रक्रिया रहेको छ ।”

राजदूत टेप्लिजले यस प्रक्रियामा सरकार र नागरिक सामाजसँगै मिलेर कार्य गरेमा नेपालमा सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै “यो एउटा न्यूनतम व्यवहार हो, यसले सरकारलाई प्रर्वद्धन गर्छ,” भन्नुभयो ।

सो अवसरमा युएसएआइडी भ्रष्टाचार निवारण तथा सुशासन कार्यक्रमका वरिष्ठ सल्लाहकार तथा ओजिपीका सञ्चालक समिति सदस्य भिक्टोरिया आयरले ओजिपीको अवधारणा, प्रयोग, अवस्था, फाइदा र बाहिरी देशहरुमा भइरहेको अभ्यासलगायत विषयमा प्रस्तुतीकरण गर्दै नेपाल यसको सदस्य बन्न लायक रहेको बताउनुभयो ।

उहाँले संस्थापक आठ मुलुकबाट शुरु भई अहिलेसम्म ओजिपीमा ७५ वटा देश सदस्य रहेको उल्लेख गर्दै नेपाल पनि सदस्य बन्न आधारभूत मापदण्ड पूरा गरेको बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले स्थानीय तहको सुशासनका लागि यो प्रक्रिया निकै महत्वपूर्ण रहेको चर्चा गर्दै यसको प्रयोगको अभ्यास शुरु गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नागरिकलाई खुल्लापनाका लागि हामीले एप्स निमार्ण गरेका छौँ, यसले मद्दत गर्छ ।”

यसैबीच, राजदूत टेप्लिजले बर्दियाको भेरी–बबई डाइभर्सन सुरुङको आवलोकन समेत गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !