११ जेष्ठ २०८१, शुक्रबार

कामपाले छिट्टै ब्रुमर यन्त्र ल्याउँदै


Dust Remover

१ जेठ, काठमाण्डौ ।  धुलो सफा गर्नका लागि काठमाण्डौ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ ।

अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्राथमिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, गत चैत २२ गते उक्त यन्त्र ल्याउनका लागि बोलपत्र आह्वान गरिएको थियो, त्यसका लागि सात वटा कम्पनीले बोलपत्र गराएका र बोलपत्र छनोटका लागि रविनमान श्रेष्ठको संयोजकत्वमा बोलपत्र मूल्याङ्कन उपसमिति गठन गरिएको छ । कामपाले रु १२ करोड मूल्य बराबरको पाँच वटा यन्त्र ल्याउने तयारी गरेको छ ।

हाल कामपाले कुचोले बढारेर धुलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गरिरहेको छ । कामपाको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक, त्रिचन्द्र कलेज आसपास र भद्रकालीबाट एक हजार ६०० टन धुलो र फोहर संकलन गर्दै आएको छ ।

अघिल्लो वैशाखमा जनप्रतिनिधि आएसँगै शुरु गरेको ‘क्लिन द सिटी’ अभियान अन्तर्गत उक्त परिमाणमा धुलोे व्यवस्थापन गरिएको हो ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !