२२ बैशाख २०८१, शनिबार

सन्दीप लामिछानेको आजदेखि थुनछेक बहस सुरु हुँदै


सन्दीप लामिछाने

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको आजदेखि थुनछेक बहस सुरु हुँदै छ । लामिछानेविरूद्ध दायर भएको मुद्दा हिजो न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेकोमा हिजो बयान लिने काम सकिएको थियो ।

लामिछानेको बयान आज सकिएसँगै अब आजदेखि थुनछेक बहस हुने काठमाडौं जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए । लामिछानेविरूद्ध सोमबार सरकारी वकिलको कार्यालय काठमाडौंले दायर गरेको मुद्दाको हिजो अदालतमा उनीसँग बयान लिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश घिमिरेकै इजलासमा आज थुनछेक बहस हुने भएको हो । हिजै थुनछेक बहस पनि हुने बताइएपनि बयान नसकिएकोले आजदेखि मात्र थुनछेक बहस सुरु हुने भएको हो । लामिछानेविरूद्ध १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय माग गर्दै हिजो काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने, तारेखमा छाड्ने वा धरौटमा छाड्ने भन्ने विषयमा थुनछेक बहसपछि अदालतबाट आदेश आउनेछ । अव केही दिनभित्रै अदालतको फैसला आउने सम्भावना रहेको छ ।

लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) को कसुरको अभियोग लगाइएको हो । दफा २१९ को उपदफा ३ (घ) बमोजिम १० वर्षदेखि १२ वर्षसम्मको कैद माग गर्नुका साथै पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !