२३ बैशाख २०८१, आइतबार

एन्फाको चुनाव वैशाख २२ मा हुँदै


anfa

२१ वैशाख, काठमाण्डौ । जिल्ला अदालतले अन्तरिम आदेश दिन नमानेपछि अखिल नेपाल फुटबल संघ ‘एन्फा’को चुनाव वैशाख २२ गते हुने पक्का भएको छ ।

निर्वाचन प्रक्रिया विधनसम्बत् नभएको भन्दै एन्फा पदाधिकारी लगायत आठ जनाले दायर गरेको अन्तरिम आदेश जिल्ला अदालतले अस्वीकार गरेपछि चुनावको बाटो खुलेको हो ।

एन्फा कोषाध्यक्ष तथा काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही लगायत विभिन्न जिल्ला फुटबल संघका ८ पदाधिकारीले विधानसम्मत् चुनाव गर्न माग गरी बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको एकल इजलाशले अन्तरिम आदेश दिनु नपर्ने निर्णय गर्दै विपक्षीलाई १५ दिन भित्र कारण देखाउ आदेश समेत जारी गरेको छ । बादीका तर्फबाट अधिवक्ता गोकुल भण्डारीले बहस गरेका थिए ।

भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको मुद्दामा गएको वैशाख १२ गते पाटन उच्च अदालतले अन्तरिम आदेश खारेज गरिदिएपछि एन्फाको निर्वाचन समितिले वैशाख २२ गते केन्द्रीय चुनाव गर्ने निर्णय गरेको थियो ।

तर, एन्फाका वरिष्ठ उपाध्यक्षसमेत रहेका अध्यक्षका उम्मेदवार मणि कुँवर समूहले निर्वाचन तथा साधारणसभा आयोजना गर्न विधानअनुसार ६० दिनको समय आवश्यक पर्नेमा निर्वाचन समितिलाई धम्क्याएर षड्यन्त्रपूर्वक चुनाव गर्न लागेको भन्दै राष्ट्रिय खेलकुद परिषद, एन्फा, निर्वाचन समिति, सचिवालय लगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो ।

यसअघि भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले केन्द्रीय चुनावमा आफूहरुलाई बञ्चित गर्न लागिएको भन्दै पाटन उच्च अदालतमा दायर गरेको मुद्दामा अदालतले चैत ८ मा अन्तरिम आदेश दिएपछि चैत १४ गते हुनुपर्ने निर्वाचन स्थगित भएको थियो ।

एन्फा नेतृत्व, निर्वाचन समिति र अध्यक्षका अर्का उम्मेदवार कर्मा छिरिङ समूह जहाँबाट प्रक्रिया स्थगित भएको हो त्यहीँबाट सुरु गर्न सहमत भए पनि मणि समूह सहमत नभएपछि उनीहरु काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्न पुगेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !