२६ बैशाख २०८१, बुधबार

जेठदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन हुने


TIA1

१३ वैशाख, काठमाण्डौ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ गतेदेखि २१ घण्टा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

एयर ट्राफिक, जनशक्ति र उपकरण व्यवस्थापन गरी जेठ ७ गतेदेखि विमानस्थल २१ घण्टा चलाउने तयारी भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । केही अन्तर्राष्ट्रिय विमान कम्पनीले रात्री उडान गर्ने इच्छा देखाएको भन्दै उहाँले यसको अन्तिम तयारी भइरहेको बताउनुभयो । अहिले विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म १८ घण्टा सञ्चालन हुँदै आएको छ ।

यसैबीच त्रिभुवन विमानस्थलको हवाइ चाप कम गर्न काभ्रेमा जग्गाको खोजी तिव्र भइरहको छ । त्रिभुवन विमानस्थलमा आन्तरिक उडानको चाप कम गर्न काभ्रेमा विमानस्थल बनाउने योजना अघि सारिएको हो ।

यसअघि प्रस्तावित ठूलीचौरमा स्थानीयको अवरोध भएपछि नागीडाँडामा विमानस्थल बनाउनेबारे सम्भाव्यता अध्ययन भइरहेको छ । पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले ११ दिनभित्र विमानस्थल बनाउन सम्भाव्य ठाउँको खोजी गर्न निर्देशन दिनुभएको जानकारी पनि विमानस्थलका महाप्रबन्धक क्षेत्रीले दिनुभयो ।

काठमाडौंको एअर ट्राफिक कम गर्न थोेरै सिट क्षमताका साना जहाज घटाउन र त्यस्ता नयाँ जहाजलाई उडान अनुमति नदिन पनि मन्त्री अधिकारीले निर्देशन दिनुभएको छ ।

त्रिभुवन विमानस्थलमा फूल एसी र कुर्सीको व्यवस्था गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले देशको प्रतिष्ठासँग जोडिएकाले यसलाई सुन्दर बनाउने काम भैरहेको उहाँले बताउनुभयो ।

पर्यटन मन्त्रीका सय दिने प्रतिवद्धताको प्रगतिबारे जानकारी दिन भएको कार्यक्रममा विमानस्थलमा भएका सुधारबारे जानकारी गराइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !