४ जेष्ठ २०८१, शुक्रबार

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक


pradesh 7

१० वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गरिएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले  नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार, सडक, पर्यटन र जलविद्युतको विकासलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा प्रदेशका दुई जिल्ला हुम्ला र डोल्पालाई राष्ट्रिय सडक सन्जालसँग जोड्ने, कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकासका लागि जमुनाह-हिल्सा प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुत मार्ग, कर्णाली  कोरिडोर, भेरी कोरिडोरलगायत सडकहरुलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा समावेश गर्न पहल गरिने र बर्दिया–सुर्खेत सुरुङ मार्ग निर्माण गर्न पूर्व सम्भाव्यता अध्ययनका लागि संघीय सरकारसँग अनुरोध गरिने उल्लेख छ ।

यस्तै प्रदेशका शहरहरुलाई शहरीकरण गर्ने, प्रदेशको भाषा संस्कृतिको संरक्षणका लागि संग्रहालय स्थापना गर्ने, स्वास्थ्य, शिक्षाको पहुँच पुर्‍याउने, प्रदेशलाई पर्यटन हबका रुपमा विकास गर्ने, अर्गानिक प्रदेशको घोषणाका लागि आधार तयार गर्न रासायनिक विषादीलाई न्यूनीकरण गर्ने र जैविक मलकोे प्रयोगमा जोड दिने कार्यक्रम पनि समावेश छ ।

त्यस्तै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको विमानस्थलका लागि सम्भाव्यता अध्ययन गर्ने, दुर्गम ठाउँमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने, प्रत्येक स्थानीय तहमा एम्बुलेन्स र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालाई मेडिकल कलेज तथा शिक्षण अस्पतालका रुपमा विकास गरिने लगायत विषयहरु समेटिएका छन् ।

यस्तै जनतासँग मुख्यमन्त्रीको प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने कार्यक्रमलाई अगाडि बढाइने, अनियमिता, ढिलासुस्ती र  भ्रष्टाचार नियन्त्रण गरी सुशासनसहितको जनमैत्री शासन व्यवस्था   अवलम्बन गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको  छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !